आफ्नै भतिजाको हत्या गरी फरार भएका व्यक्ति १४ वर्षपछि पक्राउ

जेष्ठ २६, २०८२

माधव अर्याल

A man who escaped after killing his own nephew was arrested after 14 years

पाल्पा — अंश सम्बन्धी विवादमा आफ्नै भतिजाको हत्या गरी फरार भएको १४ वर्षपछि एक व्यक्ति पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालयले माथागढी गाउँपालिका–१, चिदीपानीका ५७ वर्षीय सन्तबहादुर सार्कीलाई भतिजाको हत्या आरोपमा पक्राउ गरेको हो । 

सार्कीले आफ्नै दाजुको छोरा १८ वर्षीय नरवीर नेपाली (सार्की) को २०६८ साल कार्तिक ११ गते रातिको समयमा हत्या गरी फरार भएका थिए।२०६८ सालदेखि फरार सूचीमा रहेका उनलाई लामो समयपछि नेपाल फर्किँदै गरेको भन्दै सूचनाका आधारमा बेलहिया बसपार्क भैरहवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी डीएसपी सुनिल मल्लले जानकारी दिए।

प्रहरीले सन्तबहादुर बेलाबखतमा नेपाल आउने गरेको भन्ने सूचना प्राप्त गरेको र सोही सूचनाका आधारमा निगरानी गर्ने क्रममा उनलाई पक्राउ गर्न सकिएको जनाएको छ । सोमबार जिल्ला अदालतबाट ६ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले बताए।

सन्तबहादुरलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १७७ बमोजिम ज्यान सम्बन्धी कसूरमा जिल्ला अदालत पाल्पाबाट फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४ (१) बमोजिम थप अनुसन्धान अघि बढाइएको छ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully