पाल्पाको रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको पुष्टि

जेष्ठ २५, २०८२

माधव अर्याल

The herb found in Palpa's Rimigha Lake is confirmed to be Yarchagumba

पाल्पा — पाल्पाको रिमिघा लेक जंगल क्षेत्रमा भेटिएको जडीबुटी यार्चागुम्बा पुष्टि भएको छ । रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र वडा ३ पीपलडाँडा क्षेत्र रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चागुम्बा भएको राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुरले आइतबार पुष्टि गरेको हो ।

रम्भा गाउँपालिका र डिभिजन वन कार्यालयले यार्चाको प्रमाणीकरणका लागि कर्मचारी खटाएको थियो । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाका बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्ने क्रममा यार्चागुम्बा जस्तै देखिने प्रजाति भेटिएको थियो । त्यसपछि परीक्षणका लागि विधि विज्ञान प्रयोगशाला पठाइएको रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । 

प्रयोगशालाको रिपोर्ट आएपछि जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, गाउँपालिका अध्यक्ष भण्डारी, उपाध्यक्ष राधाकुमारी श्रेष्ठ, निमित्त प्रमुख प्रशासकीय अधिकृत पोष्टराज न्यौपाने, डिभिजन वन प्रमुख नारायणदेव भट्टराईसमेतको उपस्थितिमा जिल्ला सुरक्षा समितिको बैठक बसेर जडीबुटी यार्चा भेटिएको क्षेत्रमा अझै केही दिन सर्वसाधारणलाई प्रवेश निषेध गरेको छ । 

प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले सुरक्षा समितिको बैठकले जडीबुटी संकलन, बिक्री वितरण कार्य व्यवस्थित गर्ने गरी अझै केही दिन रिमिघा लेक क्षेत्रमा सर्वसाधारणको प्रवेश निषेध गरेको जानकारी दिए । ‘रिमिघा लेकमा भेटिएको जडीबुटी यार्चा नै भएको प्रमाणित भएको छ,’ प्रजिअ सुवेदीले भने, ‘तर त्यो कुन प्रकृतिको हो, साथै त्यसको मेडिसनल भेल्यु कति छ भन्ने यकिन भएको छैन ।’

अब जडीबुटी संकलन, बिक्री वितरणका लागि विगतमा संकलन गर्दै आएका जिल्लासँग डिभिजन वन कार्यालयले समन्वय गर्नेछ । प्रचलित कानुनी व्यवस्था भएका जिल्लाका डिभिजन वन र गाउँपालिकासँग समन्वय गरेर डिभिजन वन कार्यालय पाल्पाले संकलन कार्य व्यवस्थित गर्ने गरी बैठक टुंगिएको प्रजिअ सुवेदीले बताए । त्यस क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन हुनेछ । यार्चा भेटिएको जंगल रम्भा गाउँपालिका–३, पीपलडाँडाका साथै २ को फोक्सिङ्कोटको रिमिघा वन क्षेत्रमा सर्वसाधारणलाई जेठ २९ गतेसम्म लगाएको प्रवेश निषेध कायमै राखिएको छ । 

डिभिजन वन कार्यालयका अनुसार सार्वजनिक सूचनाको बर्खिलापमा गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ । डिभिजन वन प्रमुख भट्टराईले काम व्यवस्थित गर्ने क्रममा अहिले केही समय जंगल क्षेत्रलाई सिल नै राखिने बताए । ‘काम व्यवस्थित गर्ने समयसम्म हुलहज्जत हुन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा गरिनेछ,’ उनले भने, ‘पछि खुला गरेर कानुनतः विधि पद्धति बसालेर संकलन, बिक्री वितरण गरी रोयल्टी संकलन गरी स्थानीयको आम्दानी बढाइनेछ ।’

अहिले पनि रिमिघा जंगलको सम्पूर्ण क्षेत्रमा मानिस आवतजावतका लागि र कुनै प्रकारको घरपालुवा चौपाया प्रवेश गराउन रोक लगाएको छ । वन ऐन, २०७६ को दफा ९ बमोजिम निषेध गरिएको छ भने यस आदेशको उल्लंघन गरेमा वन ऐन, २०७६ को दफा ४९ को (थ) बमोजिमको कसुर हुने हुने डिभिजन वन प्रमुख भट्टराईले बताए । ऐनको दफा ५० को (१४) बमोजिम ६ महिनासम्म कैद वा १० हजारसम्म जरिवाना र दुवै सजाय हुने व्यवस्था रहेको उनले बताए ।

रिमिघिा लेक १ हजार ८ सय मिटरको उचाइमा रहेको छ । समन्वय प्रमुखका साथै गाउँपालिकाका पदाधिकारी सम्मिलित बैठकले रिमिघा लेक जत्तिकै अन्य अग्ला लेक भएका अन्य क्षेत्रमा पनि पाइने सम्भावना भएकाले अन्य पालिकासँग पनि समन्वय गरेर खोज अनुसन्धान गरिनेछ ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully