बजेट न खेल : कर्मकाण्डीका लागि राष्ट्रपति रनिङ शिल्डको जिल्लास्तरीय प्रतियोगिता मात्रै सञ्चालन
गुल्मी — जिल्ला खेलकुद विकास समितिको कार्यालय गुल्मीमा अचम्म लाग्दो दृश्य देखिन्छ। कार्यालयभित्र छिर्दा सूचना अधिकारी कार्यालय प्रमुख डिल्ली बिक भनेर ब्यानर झुन्डाइएको छ। त्यसपछि भित्र जाँदा अध्यक्ष गिरी प्रसाद महाकिम भनेर नेम प्लेट राखिएको छ ।
जबकि वि.सं २०८० माघमै कार्यालय प्रमुख बिकको सरुवा भएको थियो भने गत पुसमा महाकिम अध्यक्ष भएको समिति भङ्ग भएको थियो ।
हाल जिल्ला खेलकुद विकास समिति गुल्मी कार्यालय सहयोगीको भरमा चलेको छ । कार्यालय प्रमुख, लेखा अधिकृत, कम्प्युटर अपरेटर, विभिन्न खेल विधाका प्रशिक्षक र कार्यालय सहयोगीको दरबन्दी रहेपनि हाल कार्यालय सहयोगी काले खत्री मात्रै कार्यालयमा छन् ।
कार्यालयमा कर्मचारी नहुँदा जिल्लामा सञ्चालन हुने जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालनमा पनि सकस हुने गरेको छ । यद्यपि गत वर्ष विकास समिति र यस वर्ष लुम्बिनी खेलकुद परिषद्का सदस्य तथा विकास समितिका पूर्वध्यक्ष महेश काउछाले नेतृत्व गरेर प्रतियोगिता सम्पन्न गरिएको छ । तर पनि बजेट अभाव, व्यवस्थापन र कार्यसंचालनमा भने समस्या हुँदै आएको छ ।
रनिङ शिल्ड प्रतियोगिता सञ्चालनका क्रममा प्रत्येक वर्ष ऋण थपिँदै गएको छ । अघिल्लो वर्ष साढे ३ लाख रुपैयाँ र यस वर्ष पनि सोही हाराहारीमा ऋण थपिएको छ । एक प्रतियोगिता सम्पन्न गर्न मितव्ययी भएर करिब ९ लाख रुपैयाँ खर्च हुने गरेको छ । प्रतिगितामा पुरस्कार, ट्रफी, मेडल, निर्णायक, प्रशिक्षक, तयारी, साउन्ड सिस्टम, औपचारिक कार्यक्रम सञ्चालन र यातायात समेतमा खर्च हुने गर्दछ । प्रदेशबाट रकम आउने र कार्यालयका सटर भाडाबाट हुने आम्दानीले नपुगेर ऋणमा जाने गरेको कार्यालयले जनाएको छ ।
पछिल्लो गत पुसमा भङ्ग भएको जिल्ला खेलकुद विकास समितिका तत्कालीन अध्यक्ष गिरीप्रसाद महाकिम दरबन्दी अनुसारका कर्मचारी र कुनै पनि खेल विधाका प्रशिक्षक नहुँदा सास्ती खेप्नुपरेको बताए । ‘पटक पटक हारगुहार गर्दा पनि राज्यले केही गर्दैन,’ उनले भने, ‘नामको मात्रै खेलकुद विकास हो, यहाँ खेलसम्बन्धी केही पनि हुँदैन ।’ कर्मचारी र प्रशिक्षक मात्रै होइन कार्यालयमा अपुग भएर माग गरिएका फर्निचरका समान पनि केही नआउने गरेको उनले बताए ।
खेलकुद क्षेत्रको समग्र विकास, खेलाडी पहिचान र प्रतिभा प्रस्फुटन गरी बाहिर ल्याउने संस्था विकास समिति र कर्मचारी विहीन हुनु दुःखद रहेको जिल्ला भलिबल संघ गुल्मीमा महासचिव नारायण आचार्यले बताए । ‘समिति भए खेललाई सहज र खेलाडीलाई अवसर हुन्थ्यो,’ उनले भने, ‘खेलाडी प्रतिभाहरू बाहिर आउनबाट वञ्चित भएका छन् ।’ समिति र कर्मचारी नभएको जिल्ला खेलकुद विकास समिति गुल्मीले धेरै वर्षदेखि कर्मकाण्डीका लागि मात्रै राष्ट्रपति रनिङ शिल्डको जिल्ला स्तरीय प्रतियोगिता मात्रै गराउने गरेको छ । त्यो बाहेक कार्यालय मार्फत कुनै खेल क्षेत्रमा काम हुन सकेको छैन ।
कार्यालयका सहयोगी काले खत्री (लालबहादुर जिसी) ले १६ महिनादेखि कर्मचारीका रूपमा आफू मात्रै रहेको र गत पुसदेखि समिति पनि नभए पनि आफू एक्लै रहेको बताए । ‘२० वर्षदेखि यस कार्यालयमा छु, अहिले म मात्रै छु,’ उनले भने, ‘पहिले विकास समितिले तलब खुवाउँथ्यो, अब परिषद् सदस्यबाट आउँछ कि भन्ने आस छ ।’ उनले कामको कुनै चाप नभएको तर कार्यालय आफ्नो भरमा रहेको बताए।
लुम्बिनी खेलकुद परिषद् का सदस्य महेश काउछाले कार्यालयमा विकास समिति न कर्मचारी हुँदा धेरै दुःख भएको बताए । ‘यो दुःख कसलाई सुनाउने ? कसैले पनि दुःख सुन्दैनन्’ उनले भने, ‘विकास समिति गठन र कर्मचारी व्यवस्था छिट्टै हुनुपर्यो ।’
