रोल्पा अस्पतालमुनि पहिरो, नियन्त्रण गर्न ढिलाइ

जेष्ठ २५, २०८२

काशीराम डाँगी

Landslide under Rolpa hospital, delay in control

रोल्पा — रेउघास्थित रोल्पा अस्पताल भवन निर्माण गरिएको स्थान मुनिको भागमा पहिरो खसेको छ । पहिरो रोकथाम गर्न वर्षौंदेखि पहल भएपनि त्यहाँको अवस्था खतरामुक्त अवस्था छैन । बर्सेनि पहिरो खस्ने र अस्पताललाई थप खतरा बनाउने क्रम रोकिएको छैन । 

रोल्पा नगरपालिका–२ रेउघास्थित जिल्ला अस्पताल निर्माण गरिएको स्थानभन्दा सिधै मुनिको धाङ्सी खोलाले बर्सेनि जमिन कटानी गरेका कारण पहिरो फैलने क्रम बढेको हो । रोल्पा अस्पतालको पहिरो नियन्त्रण गर्न वन तथा वातावरण मन्त्रालयले बर्सेनि बजेट विनियोजन गर्दै आएको छ । मन्त्रालय अन्तर्गतको जिल्ला भू–तथा जलाधार व्यवस्थापन कार्यालयले अघिल्लो आर्थिक वर्षमा पनि बजेट विनियोजन गरेर पहिरो नियन्त्रण गर्ने र भू–संरक्षण गर्ने योजना सम्पन्न गरिसकेको छ । तर पहिरो ठूलो हुँदै गएको तथा थोरै बजेटले एकै पटकमा पहिरो नियन्त्रण नसकिने भू–तथा जलाधार व्यवस्थापन कार्यालय रोल्पाका प्रमुख रोबर्ट महराले बताए । 

उनका अनुसार पहिरो नियन्त्रण गर्न अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा ७५ लाख आफ्नो कार्यालयबाट बजेट विनियोजन गरिएको थियो । उक्त रकमबाट ठेक्कामा काम दिएर लामो ग्याबिन पर्खाल निर्माण गरिएको छ । जसअन्तर्गत रोल्पा अस्पतालको तलतर्फ धाङ्सी खोलामा करिब १ सय ८० मिटर लामो ग्याबिन पर्खाल निर्माण गरिएको छ । यो योजना अनुसार १ हजार २ सय ४२ घनमिटर ग्याबिन तारजाली भर्ने कार्य भएको हो । योजनाको ठेक्का अष्टविनायक निर्माण सेवाले लिएकोमा चालू आर्थिक वर्षमा नै कार्य सम्पन्न गरिसकेको छ । ठेक्कामा कार्य गर्दा उक्त निर्माण कम्पनीले भू–तथा जलाधार व्यवस्थापन कार्यालयसँग ४० लाखमा सम्झौता गरेको थियो । 

Landslide under Rolpa hospital, delay in control

रेउघामा केही वर्षअघि निर्माण गरिएको ५० शय्याको क्षमता भएको जिल्ला अस्पताल भवनलाई पहिरोबाट पूर्णरुपमा जोगाउन नसकेमा थप खतरा बढ्ने निश्चित छ । अस्पतालको विशाल भवन निर्माण गरिसकेकाले त्यसभन्दा मुनिको पहिरोको संरक्षणप्रति ध्यान दिनु आवश्यक छ । पहिरोग्रस्त क्षेत्रको पहिचान गरेर भूगर्भविद्लाई बोलाएर अध्ययन गर्न लगाउनुपर्ने स्थानीयको माग रहेको छ । ‘पहिरोग्रस्त क्षेत्रको भूगोल र भूभाग भौगर्भिक हिसाबले एकदमै कमजोर भएको र बायोइन्जिनियरिङ र कम खर्चिलो भू–संरक्षण प्रविधिको प्रयोगबाट पहिरो नियन्त्रण गर्न जरुरी छ,’ रोल्पास्थित भू–तथा जलाधार व्यवस्थापन कार्यालय प्रमुख महराले भने ।

उनका अनुसार धाङ्सी खोलालाई संरक्षण गर्न र पहिरो भएको क्षेत्रलाई समेत संरक्षण गर्न जनस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय रोल्पाबाट पनि बजेट विनियोजन हुँदै आएको छ । आर्थिक वर्ष २०८१/८२ मा पहिरोग्रस्त क्षेत्र र धाङ्सी खोलामा तटबन्ध निर्माण गर्न संयुक्तरुपमा ९० लाख बजेट विनियोजन भएको थियो । सिँचाइ डिभिजन कार्यालयका अनुसार चालू वर्षमा उक्त योजनामा १० लाख बजेट परेको थियो भने अघिल्लो वर्ष २० लाख बजेट परेको थियो । 

Landslide under Rolpa hospital, delay in control

निर्माण व्यवसायीसमेत रहेकी स्थानीय दुर्गा लक्ष्मी बुढामगरले पहिरो बर्सेनि बढ्ने गरेको तर सरकारले निकै कम बजेट छुट्याएकाले पहिरो नियन्त्रण गरेर अस्पताल क्षेत्रलाई संरक्षित गर्न चुनौती थपिएको बताइन् । ‘हरेक वर्ष टुक्रे बजेट पठाउने गरिएको छ । त्यसबाट थोरै काम हुने र हरेक वर्ष बाढी र पहिरोले क्षति बढाउने गरेकाले पहिरो नियन्त्रणमा प्रगति देखिएको छैन । सरकारले ध्यान दिएर बजेट वृद्धि गर्नु जरुरी छ,’ उनले भनिन् ।

अस्पतालमुनिको भागमा ठूला रुख नभएको र बुट्यान मात्रै भएकाले वृक्षारोपणसमेत गर्नुपर्ने स्थानीयको माग छ । अस्पताल व्यवस्थापन समिति गठन अभावमा पनि पहिरो नियन्त्रण गर्ने ठोस योजना बनाउन समस्या भएको छ । स्थानीय तहका जनप्रतिनिधिले पनि गम्भीर भएर पहिरो नियन्त्रणमा ध्यान पुर्‍याउनुपर्ने स्थानीयको भाग छ । रोल्पा अस्पतालका सूचना अधिकारी कुलबहादुर डाँगीले पहिरो नियन्त्रण गर्न सरकारले गम्भीर रूपमा उच्च प्राथमिकता दिनु आवश्यक भएको बताए । 

Landslide under Rolpa hospital, delay in control

चिटिक्क परेको रोल्पा अस्पतालमा सेवा भने पर्याप्त छैन । पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गरेको अस्पतालमा पर्याप्त दरबन्दी छैन । जनशक्ति पनि कम छ । हाल अस्पतालमा थोरै मात्रै चिकित्सक कार्यरत छन् । जबकि यहाँ एघारौं तहको चिफ कन्सलटेन्ट (मेडिकल सुपरिटेन्डेन्ट) सहित १८ जना चिकित्सकको दरबन्दी छ । हाल दसौं तहका एक जना चिकित्सक प्रमुख छन् । एघारौं तहका नआएकाले दसौं तहकाले नै चलाएका छन् । अस्पतालमा स्वीकृत चिकित्सक दरबन्दी अनुसार सीएमएस, एमएस वा डाइरेक्टर हुन् एक जना एघारौं तहका मुख्य कन्सल्टेन्ट चिकित्सक, नवौं वा दसौं तहका सिनियर कन्सल्टेन्ट चिकित्सक १० जना, आठौं तहका मेडिकल अधिकृत ७ जनासहित १३ जना नर्सिङ स्टाफको स्वीकृत दरबन्दी छ । चिकित्सक र बिरामीबीचको अनुपात १ जना बराबर ३२० जना छ । 

उक्त अस्पताललाई लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०७६/७७ मा ५० शय्याको तहमा स्वीकृति प्रदान गरेको थियो । अस्पताल ५० शय्याको सञ्चालन भएमा विभिन्न क्षेत्रका विशेषज्ञ सेवासमेत सञ्चालन गर्नुपर्ने अवस्था हुन सक्छ । त्यस तहको अस्पतालमा जनरल फिजिसियन सेवासहित बालरोग, स्त्रीरोग, हाडजोर्नी, शल्यचिकित्सा, मानसिक, नाक, कान र घाँटी, एनेस्थेसिया लगायतका विषयका विशेषज्ञ चिकित्सक हुन आवश्यक छ । त्यस्तै, नर्सिङ स्टाफ लगायतका थप कर्मचारी भएमा मात्रै नयाँ भवनमा काम गर्न सहज हुने मेडिकल अधिकृत डा. निरज घर्तीमगरले बताए । ५० शय्याको अस्पतालमा कम्तीमा ११ जना विशेषज्ञ चिकित्सक हुनुपर्ने प्रावधान छ । 

काशीराम डाँगी कान्तिपुरका रोल्पा संवाददाता हुन् ।

Link copied successfully