दाङ — शहरका सुविधा सम्पन्न कलेजमा पढ्दै गरेका विद्यार्थीहरु ग्रामीण भेगको सुखदुख र जनजीवन बुझ्न गाउँतिर पसे । तीन दिनसम्म गाउँमै बसेर समुदायका विभिन्न संस्कार र सँस्कृति बुझ्दै सामाजिक कामहरु पनि सिके ।
भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीले विद्यार्थीहरुलाई समुदाय बुझाउने उद्देश्यले प्रत्येक वर्ष समुदाय क्याम्प आयोजना गर्दै आएको छ । जस अनुसार हालै कलेजमा सातौं सेमेस्टरमा अध्ययनरत सिनर्जी ग्रुपका विद्यार्थीहरु ११औं श्रृंखलाको समुदाय क्याम्पमा सहभागी भए ।
घोराही उपमहानगरपालिका-१ सिमलतारास्थित नमुना आधारभूत विद्यालयमा तीन दिने क्याम्प राखी उनीहरुले विद्यालयको अवस्था सुधारका लागि योगदान गरे ।
उनीहरुले समुदाय वाक, विद्यार्थीहरुलाई खेलकुद तथा शैक्षिक सामग्री वितरण, चेतनामुलक सडक नाटक, ज्ञान तथा सिप आदानप्रदान, विद्यार्थी शिक्षण, सरसफाई, योगा तथा ध्यान र सांस्कृतिक कार्यक्रम गरे ।
गाउँको जीवनशैली बुझ्न उनीहरुले दिनभर पैदल हिँडेर पहाडी भेगका विभिन्न क्षेत्रको अवलोकन गरे । गाउँका मानिसहरुसँग अन्तरक्रिया गरे । यसअघि १० वर्षसम्म घोराही-१९ सैघास्थित भगवती मावि होडबाङमा सामुदायिक क्याम्प आयोजना गरिएको थियो ।
जस अन्तर्गत विद्यालयमा पुस्तकालय स्थापना, शैक्षिक सामग्री, सूचना प्रविधिका उपकरण जडान लगायतका विद्यालयका सुधारका धेरै कामहरु समपन्न भएको कलेजका निर्देशक केवि चौधरीले बताए ।
एउटा विद्यालय निर्माणमा १० वर्ष बिताएपछि ११औं श्रृंखलामा नयाँ विद्यालय छनोट गरेको उनले जानकारी दिए । हरेक वर्ष विद्यार्थीहरुलाई ग्रामीण जनजीवन र समुदाय बुझाउन दुर्गम ठाउँमा क्याम्प खडा गरी राख्ने गरेको उनले बताए ।
‘यसबाट विद्यार्थीहरुको सिकाई फराकिलो हुनुका साथै सामाजिक सेवाको भावना विकास हुन्छ,’ उनले भने, ‘जीवनका चुनौतीहरु सामना गर्ने क्षमता विकास हुन्छ । जीवन र गाउँ समाज बुझ्न पाउँछन् ।’
