नवलपरासी — पूर्व–पश्चिम राजमार्ग अन्तर्गत पूर्वी नवलपरासीको चोरमारास्थित गिरुबारी पुल मर्मत गरेर शुक्रबार साँझबाट यातायात सञ्चालनमा ल्याइएको छ । वैशाख ३० गते ओभरलोड सवारीको कारण भासिएको थियो । पुल समयमा नै मर्मत नहुँदा यातायात सञ्चालनमा असहजता आएको थियो ।
सामान्य वर्षामा पनि खोलामा बाढी आउँदा पटक–पटक डाइभर्सन बगाउँदा घन्टौँ जाममा बस्नुपर्ने बाध्यता छ । पुलको मर्मत गरेर शुक्रबार साँझबाट यातायात सञ्चालन गरिएको बुटवल–नारायणगढ सडक बिस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी शिव खनालले बताए ।
यसै गरेर पूर्व–पश्चिम राजमार्गको दुम्किबासमा रहेको विनयी खोलामा पुस २६ गते भासिएको पुलसँगै नयाँ पक्की पुल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । नारायणगढ–बुटवल सडक विस्तार अन्तर्गत निमार्णाधीन पुललाई प्राथमिकताको साथमा निर्माण गरेर वर्षा अगाडि नै सवारी सञ्चालनको तयारी गरिएको हो ।
नयाँ पुलको सबै निर्माणको काम सकिएको र ढलान सेट हुनका लागि २८ दिन समय लाग्ने भएकाले अबको २८ दिनमा नयाँ पुलबाट यातायात सञ्चालन हुने सडक विभागले जनाएको छ । भासिएको पुरानो पुलको मर्मत भने सुरु भएको छैन । जसको कारण पटक पटक डाइभर्सन बगाउँदा करिब २५ किलोमिटर लामो वैकल्पिक मार्ग हुँदै सवारी सञ्चालन गर्नुपर्ने बाध्यता छ ।
