सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम 

भौतिक प्रगति ५३.४१ प्रतिशत 

जेष्ठ २३, २०८२

माधव अर्याल

The work of 'invert and lining' in Siddhababa tunnel is in full swing

पाल्पा — सिद्धार्थ राजमार्ग अन्तर्गत सिद्धबाबा सुरुङमार्गमा ‘इन्भर्ट र लाइनिङ’ को काम धमाधम अघि बढेको छ । मुख्य टनेलको कुल १०८९ मिटरमध्ये इन्भर्टको काम अब ९९ मिटर मात्र बाँकी छ भने लाइनिङको काम ४ सय २९ मिटर रहेको छ ।

बाइपास १ मा ‘इन्भर्ट र लाइनिङ’ को काम भइरहेको छ भने बाइपास ३ मा ‘इन्भर्ट’ को काम सुरु भएको सिद्धबाबा सुरुङमार्ग आयोजना कार्यालयका प्रमुख कृष्णराज अधिकारीले जानकारी दिए । सुरुङमार्ग मुख्य टनेलको कामलाई तीव्रता दिएर सक्ने र सवारी साधन भित्रबाट पठाएर बाहिर अहिलेको सडकमा काम गर्ने योजना आयोजनाको छ ।

‘त्यसैले अहिले भित्रको कामलाई जोड दिएका हौं,’ उनले भने, ‘बाहिर भीरपाखा र तल्लो भागमा खोला भएकाले काम गर्न समस्या हुन्छ । त्यसैले पहिले मुख्य टनेलबाट सवारी साधन गुडाउने अवस्था पुर्‍याउने हो ।’ बाइपास एक १ सय ५१, बाइपास दुई १ सय ६१ र बाइपास तीन १ सय ३० मिटर रहेको छ । उनका अनुसार बाइपास एकको इन्भर्टको काम १ सय ४५ मिटर भइसकेको छ । लाइनिङको काम पनि १ सय १८ मिटर भइसकेको छ । त्यस्तै, बाइपास तीनको पनि इर्न्भटको काम ३६ मिटर भइसकेको आयोजना कार्यालयका प्रमुख अधिकारीले बताए । बाइपास दुइको इन्भर्ट र लाइनिङको काम सुरु भएको छैन । उनका अनुसार सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका–३, दोभान सिद्धबाबा क्षेत्रमा निर्माणाधीन सुरुङमार्गको भौतिक अहिलेसम्मको समग्र भौतिक प्रगति ५३.४१ प्रतिशत पुगेको छ । त्यस्तै, वित्तीय प्रगति ४७.८ प्रतिशत रहेको छ ।  

The work of 'invert and lining' in Siddhababa tunnel is in full swing

आयोजनाअन्तर्गत २ लेनको मुख्य सुरुङमार्ग १ हजार ८९ मिटर लम्बाइको हुनेछ । यसको मुख्य सुरुङमार्गको चौडाइ साढे १० मिटर र उचाइ करिब ७ मिटर रहनेछ । लाइनिङसहित यो सुरुङमार्गको कुल लम्बाइ १ हजार १२६ मिटर हुने आयोजना कार्यालयले जनाएको छ । यसमध्ये उत्तरतर्फ मुख्य सुरुङको इन्भर्टको काम ४ सय ८० मिटर भइसकेको छ । दक्षिणतर्फ ५ सय १० मिटर काम भएको आयोजना कार्यालयले जनाएको हो । 

मुख्य सुरुङमा लाइनिङको काम भने उत्तरतर्फ ३ सय २० मिटर र दक्षिणतर्फ ३ सय ४० मिटर सकिएको छ । स्लोप प्रोटेक्सनको दक्षिणतर्फ २ हजार ३०० मध्ये १४९५, उत्तरतर्फ ११०० मध्ये ४९५, एमआरवन माउन्टेन साइड ९६२० मध्ये ४८१, एमआरटु माउन्टेन साइट ७४४० मध्ये १४१४ स्वायर मिटर काम भएको आयोजनाले जनाएको छ । 

आयोजनाका अनुसार समयभित्र निर्माण व्यवसायीले काम गर्दा पनि सवारी गुडाउन अझै एक वर्ष अझै लाग्ने अनुमान गरिएको छ । सुरुङमार्गमा आगामी दिनमा विद्युतीकरणको काम हुनेछ । सुरक्षा र सञ्चारका उपकरण जोड्ने काम हुनेछन् । बाहिरतर्फ अहिलेको सडक भत्काएर गर्नुपर्ने भएकाले यातायात मुख्य सुरुङबाट सञ्चालन गर्नुपर्ने आयोजना प्रमुख अधिकारीले बताए । 

The work of 'invert and lining' in Siddhababa tunnel is in full swing

लाइनिङ, भेन्टिलेसनको काम भइरहेको छ । भित्तामा कङ्क्रेटिङ गर्ने, वाटर प्रुफिङ, सडक निर्माण, सुरुङभित्र ढलान, भेन्टिलेसन, लाइनिङ, लाइटिङ, अक्सिजन वारपार, सुरक्षाका उपाय, आगो निभाउने यन्त्र जडानलगायतका काम हुनेछ । यसपछि सुरुङमार्गको उत्तर र दक्षिणपट्टी हेलिप्याडसमेत निर्माण गर्ने तयारी छ ।

यो आयोजना २०७८ फागुनमा ५ वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको थियो । निर्माणको जिम्मा चिनियाँ कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले ७ अर्ब ३४ करोड २१ लाख रुपैयाँ मूल्य अभिवृद्धि करसहित लागतमा बनाउने ठेक्का सम्झौता गरेको छ । ठेक्का सर्तअनुसार पहिलो फेजमा निर्माण सुरु भएको ५ वर्षभित्र अर्थात् २०८३ चैत ८ गते निर्माण सम्पन्न गर्नुपर्ने हुन्छ ।

सुरुङमार्ग सम्पन्न हुँदा लुम्बिनी र गण्डकी प्रदेशका पाल्पा, रुपन्देही, गुल्मी, अर्घाखाँची, रुपन्देही, स्याङ्जा, पोखरा, बागलुङ, मुस्ताङ लगायतका क्षेत्रका नागरिकले सुरक्षित यात्रा गर्न पाउनेछन् । 

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully