दाउन्नेमा राजमार्ग सुचारु गराउन सरोकारवालाबीच छलफल

जेष्ठ २३, २०८२

नारायण शर्मा

Discussion between the stakeholders to resume the highway in Downe

(दाउन्ने) नवलपरासी — पूर्व-पश्चिम महेन्द्र राजमार्गअन्तर्गत दाउन्नेमा भइरहने जाम हटाउन सडक निर्माण सरोकारवालाको संयुक्त बैठक दाउन्नेमा सम्पन्न भएको छ । बैठकले जेठ मसान्त भित्र दाउन्नेमा ग्राइभेल राखेर राजमार्ग आवगमन सहज बनाउन ठेकेदार कम्पनीले चाडो काम गर्न निदेशन गरेको छ।

राजमार्गका भित्री बस्तीमा जाने राजमार्गको पहुँच मार्ग निर्माणमा तदारुकता देखाउन ठेकेदार कम्पनी सहमत भएको छ ।

महेन्द्र राजमार्ग अन्तर्गतको दुम्कीबास बर्दघाट सडक खण्ड अन्तर्गत पर्ने १४ किलोमिटर दाउन्ने खण्डमा चौबिसै घण्टा ठुला मेसिन र प्राविधिक जनशक्ति खटाउन निर्देशन दिएको छ । वर्षायाम सुरु भएसंगै दाउन्नेमा सडक हिलाम्य भएर दिनहुँ घण्टौँ जाम भइरहने अवस्थाको अन्त्यका लागि २४ सै घण्टा काम गर्न पर्ने, राजमार्ग सुचारु गर्न सघाउने हेभी इक्विप्मेन्ट राख्ने व्यवस्था मिलाउने विषयमा पनि छलफल भएको छ।

जिल्ला प्रशासन कार्यालयको समन्वयमा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम बिश्वकर्मा, बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरी, चिनियाँ ठेकेदार कम्पनी, सडक निर्माण आयोजनाका प्रतिनिधि, परामर्शदाता, जिल्ला स्थित सुरक्षा निकायका प्रमुख र सरोकारवाला निकाय सहभागी थिए ।

 प्रमुख जिल्ला अधिकारी भबिश्वर पाण्डेले गत चैत २३ गते यसै विषयमा दाउन्नेमा भएको त्यतिबेलाका छलफल अनुसार फिल्डमा काम हुन नसकेको भन्दै चिनियाँ ठेकेदार कम्पनी सडक आयोजनाका प्रतिनिधिसँग असन्तुष्टि पोखेका थिए । १४ किलोमिटर खण्ड दाउन्ने क्षेत्रको राजमार्ग अबरुद्ध हुन नदिन त्यहाँ सबै उपाय अवलम्वन गरेर काम गर्न ठेकेदार कम्पनी तयार भएको सहायक प्रमुख जिल्ला अधिकारी माधब प्रसाद शर्माले जानकारी दिए ।

महेन्द्र राजमार्गको कावासोतीदेखि दाउन्नेसम्म स्थलगत निरीक्षण गरेको सरोकारवालाको टीमले शुक्रबार दाउन्नेमै बैठक गरेर अहिलेसम्म भएको कामको समीक्षा गरेको हो । बिनयी त्रिवेणी गाउँपालिकाका अध्यक्ष घनश्याम गिरीले देशकै ठुलो आयोजना मध्येको महेन्द्र राजमार्गको कार्य प्रगति शुन्य बराबर रहेको भन्दै ठेकेदार र परामर्शदाता कम्पनीसंग असन्तुष्टि पोखेका थिए ।

दाउन्ने खण्डमा आवश्यक पर्ने ग्राइभेल, ढुंडा, गिट्टी दिन आफ्नो पालिका तयार रहेको प्रतिबद्धता उनले जनाएका थिए । राजमार्गमा जाम हुने अवस्थाको अन्त्य गर्न र गाडीको लेन मिलाउन सडक बिभागले थप कर्मचारी खटाउन सरोकारवालाले माग गरेका छन्। २४ घण्टा धुलो र हिलो हुने स्थानमा प्रहरी मात्रैको डिउटी पर्याप्त नहुने भन्दै जिल्ला प्रहरी प्रमुख यादव ढकालले राजमार्गमा सडक विभागले जनशक्ति थपेर सहयोग गर्न आग्रह गरेका थिए ।  

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully