परासी — सरकारले बजेटमा उखु किसानका लागि अनुदान रकम विनियोजन नगरेको भन्दै पश्चिम नवलपरासीका किसान र प्रतापपुर गाउँपालिकाले तत्कालै बजेटको सुनिश्चितता गर्न माग गरेको छन् । किसान अनुदानको पर्खाइमा रहे पनि बजेटले सम्बोधन नगरेको भन्दै तत्काल रकमको सुनिश्चितता गर्न माग गरिएको छ ।
प्रतापपुर गाउँपालिका अध्यक्ष एवं उखु उत्पादक किसान समिति लुम्बिनी प्रदेशका अध्यक्ष उमेशचन्द्र यादवले विज्ञप्ति जारी गर्दै किसानले पाउने अनुदान रकम अविलम्ब व्यवस्था गर्न माग गरेका हुन् । ‘हरेक वर्ष बजेट वक्तव्यमा नै अनुदान रकमको स्रोत सुनिश्चितता गरिन्थ्यो,’ अध्यक्ष यादवले भने, ‘यस वर्ष बजेट भाषणमा रकम उल्लेख नभएपछि किसान चिन्तित भएका छन् । बजेट सदनबाट पास हुदा सम्म किसानको माग पूरा हुनुपर्छ ।’
बर्सेनि घट्दै गएको उखु खेतीमा सरकारले प्रोत्साहन गर्नुपर्नेमा निराशा बनाउने काम गरेको किसानको गुनासो छ । उद्योगीले पाँच सय ८५ रुपैयाँ प्रतिक्विन्टल र सरकारले ७० रुपैयाँ अनुदान गरेर प्रतिक्विन्टल ६ सय ५५ रुपैयाँ मूल्य तोकिएको थियो ।
