परासी — पश्चिम नवलपरासीमा एक युवकले बुवासहित दुई जनाको हत्या गरेका छन् । जिल्लाको सुनवल नगरपालिका-२ मा २५ वर्षका खेमराज थारुले बुवा ५० वर्षका जयराम थारु र छिमेकी ७० वर्षका वुद्धनाथ धरिकारलाई कोदालो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।
घरायसी विवादमा बुवा खेमराजलाई कोदालो प्रहार गरेको देखेपछि उद्धारका लागि आएका धरिकारलाई पनि सोही कोदालोले प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक विरदत्त पन्तले बताए ।
‘घटनामा संलग्न युवक लागुऔषध दुर्व्यसनी भएको र केही समयअगाडि मात्रै सुधारगृहबाट घर आएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ,’ पन्तले भने, ‘बुवालाई कोदालो प्रहार गरेर हत्या गरेपछि आमाले गाउँमा हारगुहार माग्दा छिमेकी धरिकार उद्धारका लागि आउँदा उनलाई पनि प्रहार गरेको पाइएको छ ।’
हत्यापछि गाउँमा कोदालो बोकेर आतंक फैलाउँदै हिँडरहेका बेला खेमराजलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
