पाल्पा — पाल्पाको तिनाउ गाउँपालिका–२, दोभान नुवाकोटमा सामुदायिक वनको जग्गामा निर्माण गरेका अस्थायी संरचना हटाइएको छ । यहाँ नुवाकोटगढी रिसोर्ट र होटल ओखलढुंगा कटेजले वन क्षेत्रको जग्गा अतिक्रमण गरी संरचना बनाएको उजुरीको आधारमा वन कर्मचारी, स्थानीय, सामुदायिक वन, जनप्रतिनिधिको रोहबरमा हटाएको हो ।
तिनाउ सब–डिभिजन वन अधिकृत प्रेम चौधरीका साथै वन कर्मचारी सहित, तिनाउ गाउँपालिका–२, का वडाध्यक्ष यादव अर्याल लगायतको टोलीले अस्थायी संरचना हटाएको जनाएका हुन् ।
साथै सामुदायिक वनका अध्यक्ष जुद्धबहादुर थापा, नुवाकोट टोल विकास समितिका अध्यक्ष विष्णु कुमाल, स्थानीय बासिन्दासहित सबैको सामूहिक प्रयासमा अस्थायी संरचना हटाइएको डिभिजन वन कार्यालय पाल्पाले जनाएको छ ।
रिसोर्टले निर्माण गरेका अस्थायी संरचनाका साथै वन क्षेत्रमा राखिएका टेबल कुर्ची हटाइएको छ । सब डिभिजन वन अधिकृत चौधरीका अनुसार लगत्तै नापी कार्यालयबाट प्रतिनिधि लगेर नापजाँच गरी सिमा छुट्टयाइने छ ।
नुवाकोटमा सामुदायिक वनको जग्गा अतिक्रमण गरेर होटल निर्माण गरिएको उजुरीको आधारमा डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले अनुगमनका लागि टोली खटाइएको जानकारी दिए ।
वनक्षेत्र अतिक्रमण गरेर भवनसमेत बनाएका होटल सञ्चालकविरुद्ध सामुदायिक वन उपभोक्ता समूह र स्थानीय टोल विकास समितिले डिभिजन वन कार्यालय पाल्पालाई पत्राचार गरेका थिए । उनीहरुले अटेरी गरी निर्माण गरिएका अतिक्रमण संरचना हटाउन आग्रह गरेको निवेदनमा उल्लेख छ । वन कार्यालयले अतिक्रमण हटाउन बेवास्ता गरेको स्थानीयको गुनासो थियो ।
स्थानीय बेओरे चिउरीगौडा सामुदायिक वन क्षेत्रमा होटलले करिब ५ रोपनी जग्गा अतिक्रमण गरी संरचना बनाएको स्थानीय टोल विकास समितिका अध्यक्ष विष्णु कुमालको दाबी छ । नुवाकोटगढी रिसोर्टले मात्रै करिब चार रोपनी वन क्षेत्रको जग्ग्गा अतिक्रमण गरेर होटलका संरचना राखेको आरोप स्थानीयको थियो ।
सामुदायिक वन र टोल विकास समितिले तिनाउ सव डिभिजन कार्यालय र डिभिजन वन कार्यालय पाल्पामा निवेदन दिएका थिए । वन कार्यालयले कुनै पहल नगरे थप दबाबमूलक कार्यक्रम गर्ने योजना बनएका स्थानीयले वन र जनप्रतिनिधि पुगेपछि समस्याको पहल भएको बताए ।
बेओरे चिउरी गौडा सामुदायिक वनका सचिव हरिकला कुमालले वन कार्यालयहरुलाई लिखित र मौखिकरुपमा पटक–पटक जानकारी गराएको बताइन् । नुवाकोटगढी रिर्सोट र होटल ओखलढुंगा कटेजले सामुदायिक वनभित्रै डाँडाका सालका बुटामुनि कुर्ची टेवल राखेर आगो बाली क्याम्पफायर गर्ने व्यवस्था समेत मिलाएका थिए ।
वन कार्यालयका अनुसार ती सबै हटाउन लगाइएको छ । सालका रुखका हाँगामा पिङ खेल्ने संरचना निर्माण गरेको थियो । नुवाकोटगढी रिसोर्टले अतिक्रमण गरेको सामुदायिक वनको जग्गामा भौतिक संरचना समेत धमाधम बनाइरहेकाले स्थानीयले निवेदन दिएका छन् ।
नुवाकोटगढी रिसोर्टका सञ्चालक कृष्ण कुमालले नापीले नापजाँच गरेपछि मात्र जग्गाका विषयमा पुष्टि हुने बताए । रिसोर्ट सञ्चालनका लागि साढे तीन रोपनी १२ आना जग्गा स्थायी लालपूर्जा भएको खरिद गरेको उनले बताए । अस्थायी (ल्होसेपोसे) जग्गासमेत १२ रोपनी जग्गाको कागज रहेकोसमेत बताए ।
‘डाँडामा बुटवलतर्फको भ्यू देखिन्छ,’ उनले भने, ‘त्यसैले केही कुर्ची टेबल राखेको हो । संरचनाहरु पुर्जा भएकै स्थानमा बनेको थियो । वन कर्मचारी र जनप्रतिनिधि, स्थानीयले हटाउन भनेकाले हटाएका छौं ।’
तिनाउ गाउँपालिकाको दोभान, कचल, झुम्सा लगायतका स्थानमा अस्थायी (ल्होसेपोसे) जग्गा अधिक रहेको छ । लालपुर्जा भएका जग्गा थोरै हुने र सार्वजनिक जग्गा ओगटेर बस्नेहरुको संख्या ठूलो रहेकाले सरकारले समाधान गर्न सकेको छैन ।
