पाल्पा — तिनाउ गाउँपालिका–३, श्री डाँडाका तिलवीर गाहालाई नयाँ घरमा बस्न पाउँदा धेरै खुसी लागेको छ । यसअघि घर भत्किन लागेको थियो भने सहाराविहीन बनेका उनले घर बनाउन सकेका थिएनन् । तिनाउ गाउँपालिका–३, झुम्सास्थित वडा कार्यालयको सहयोगमा बनेको घरले झरी, बादल, घाम, पानीलाई ओत दिने उनले बताए ।
तिनाउ गाउँपालिका–३, कै ज्यामिरेकी रामकली विक पनि नयाँ घरमा बस्न पाउँदा निकै खुसी छन् । आफूलाई सहारा दिने कोही नभएकाले वडा कार्यालयले घर बनाएर हस्तान्तरण गरेकामा उनले खुसीका आँसु बगाइन् । ‘मजस्ता बेसहारालाई सहारा दिएकोमा खुसी लागेको छ,’ उनले भनिन् ।
गाहा र विक मात्र होइन तिनाउ गाउँपालिका–३, झुम्सा वडा अन्तर्गत १२ जना अःसहाय तथा विपन्न परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको छ । आर्थिक वर्ष २०७६/७७ बाट सुरु भएको ‘गरिबको घर वडाको भर’ अभियान अन्तर्गत नयाँ एक तले घर निर्माण गरी ओत लाग्ने वातावरण मिलाउने गरेको हो ।
सोही अभियान अन्तर्गत चालु आर्थिक वर्षमा पनि दुई विपन्न परिवारले नयाँ घरमा बस्न पाएका हुन् । वडा कार्यालयबाट प्रतिघर दुई लाखको सहयोगमा नयाँ घर बनाएर हस्तान्तरण गरिएको वडाध्यक्ष चित्रबहादुर थापाले बताए । ‘२०७४ मा निर्वाचित जनप्रतिनिधिले सुरु गरेको अभियानलाई हामीले पनि निरन्तरता दिएका हौँ,’ उनले भने ।
झुम्सा वडा कार्यालयले वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत चालु आर्थिक वर्षमा आर्थिक रूपले विपन्नका लागि एक तले पक्की घर बनाएर हस्तान्तरण गर्ने गरेको वडा सदस्य टंकनाथ बस्यालले बताए ।
उनका अनुसार अघिल्लो सरकारले प्रतिघर एक लाख ५० हजारको सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गर्दै आएको थियो । २०७९ को निर्वाचनपछि बनेको वडा सरकारले प्रतिघर दुई लाख आर्थिक सहयोगमा श्रमदानसहित घर निर्माण गर्ने गरेको उनले बताए । अघिल्लो वडा कार्य समितिले लिएको निर्णयलाई अहिले पनि निरन्तरता दिएर घर निर्माण गरेको वडा सदस्य बस्यालले बताए ।
जनप्रतिनिधि र स्थानीय श्रमदानका साथै वडाको नगद सहयोगमा श्रीडाँडाका तिलवीर गाहा, बेरुवाका तिलक सर्बुजा, भूतखोलाका रेशम पाइजा, बसन्तपुरका चन्द्रबहादुर रामजालीले नयाँ घर पाएका छन् । बसन्तपुरकै हरि पाण्डेय, ज्यामिरेका रामकली विक, फूलमाया विक, फिरपिरेका हरि खाम्चा, धनबहादुर दर्लामी र ज्यामिरेका भीमबहादुर सारुले नयाँ घर पाएका हुन् । तिनाउकै भूतखोलाका टुकबहादुर दिशा र ज्यामिरेकी गंगादेवी सुनारले नयाँ घरमा बस्न पाएका हुन् ।
आर्थिक रूपले विपन्न र सहाराविहीन परिवारलाई वडास्थित स्थानीय सरकारले साथ दिनुपर्छ भन्ने मान्यताका साथ बजेट विनियोजन गरी स्थानीय र जनप्रतिनिधिसमेतले श्रमदान गरेर घरहरू निर्माण गरिँदै आएको वडा अध्यक्ष थापाले बताए ।
आम्दानीको स्रोत नभएका परिवारलाई स्थानीय सरकारले बस्नका लागि सुरक्षित बास बनाइदिएपछि बाहिर अरूको सहारामा बस्नुपर्ने समस्याको समाधान हुने गरेको पूर्ववडाध्यक्ष प्रेमप्रसाद पाण्डेयले बताए । ‘हामीले सुरु गरेको कार्यक्रम अहिले पनि निरन्तरता पाउँदा खुसी नै लागेको छ,’ उनले भने, ‘यो अभियानले विपन्नलाई धेरै राहत पुगेको छ ।’
