बर्दिया — समस्याग्रस्त चितुवा बुधबार बिहान थारु सामुदायिक वन, गुलरिया–५ बालापुरबाट नियन्त्रणमा लिइएको छ । त्यहाँ राखिएको केजमा राखिएको बाख्रा खान खोज्दा खोरभित्र पसेर नियन्त्रणमा लिइएको राष्ट्रिय प्रकृति संरक्षण कोषका पशु चिकित्सक विकल्प कार्कीले बताए ।
जेठ १४ गते गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको चितुवाको आक्रमणमा परी मृत्यु भएको थियो । आठ दिनदेखि चितुवा नियन्त्रणमा लिन डिभिजन वन कार्यालय, बर्दिया निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोषलगायत स्थानीयले दिनरात खोजी गरेका थिए ।
विगत ७ महिनायता चार जनाको ज्यान लिएको चितुवाको आतंकले गुलरिया आसपासका क्षेत्रका बासिन्दा त्रसित भएका छन् । डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदीका अनुसार नियन्त्रणमा लिएको चितुवा पोथी भएको बताए । 'नियन्त्रणमा आएको चितुवा सधैँ अनुगमनमा देखिएको हो,' उनले भने, 'उक्त सामुदायिक वनमा चितुवा हुन सक्ने भएकाले सचेत रहन जरुरी छ ।' नियन्त्रणमा लिएको चितुवा डिभिजन वन कार्यालयमा राखिएको छ ।
गत वैशाख १५ गते गुलरिया–८ स्थित सयु सामुदायिक वनमा ९ वर्षीया मेलिना खड्काको पनि चितुवाको आक्रमणमा मृत्यु भएको थियो । गत मंसिरयता चितुवाको आक्रमणमा बर्दियामा चार जनाको ज्यान गई सकेको छ । यसै अवधिमा चितुवाको आक्रमणमा १६ जना घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
