वडाध्यक्षमाथि भारतमा पक्राउ पुर्जी जारी

जेष्ठ २१, २०८२

कमल पन्थी

Arrest warrant issued for Ward President in India

बर्दिया — सीमावर्ती भारतीय मुर्तिहा रेन्ज पोष्टले गुलरिया नगरपालिका–९ का वडाध्यक्ष हरिप्रसाद पासवानमाथि पक्राउ पुर्जी जारी गरेको छ । उनीमाथि भारतीय वन अपराध पंजिका (एच १) आपराधिक क्रियाक्लापअन्तर्गत पक्राउ पुर्जी जारी गरेको हो ।

यसैगरी वन अपराधको आरोपमा गुलरिया–९का अनिल यादवमाथि पनि पुर्जी जारी भएको वडाध्यक्ष पासवानले बताए । भारतीय वनकर्मीले उनीहरुमाथि अखेटापहार ओसारपसार गरेको आरोप लगाएका छन् । वडाध्यक्ष पासवानले भारतीय वनरक्षकले नेपाली नागरिकमाथि कुटपिट र दुर्व्यवहार गरेको विरोधमा आवाज उठाएपछि आफूहरुविरुद्ध झुठो मुद्दा दायर गरेको बताए । भारतीय वनमा घाँस, दाउरा गरेबापत अवैधरुपमा रकम असुल्ने, नदिए कुटपिट गर्ने र दुर्व्यवहार गर्ने गरेकोले जनप्रतिनिधिको हैसियतले त्यसको विरुद्ध आवाज उठाएकोले झुठो आरोपमा पक्राउ पुर्जी जारी गरेको वडाध्यक्ष पासवानले जनाए । 

सशस्त्र प्रहरी बल ३१ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक मानबहादुर शाहीले वडाध्यक्ष पासवान र यादवविरुद्ध पक्राउ पुर्जी जारी गरेको जानकारी पाएको बताए । यस सम्बन्धमा भारतीय समकक्षीसँग समन्वय भइरहेको उनको भनाइ छ । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully