पाल्पाको फोक्सिङ्कोट जंगलमा पनि यार्चागुम्बा जस्तै वनस्पति भेटियो

राष्ट्रिय र सामुदायिक वनमा सर्वसाधारणलाई प्रवेशमा रोक 

जेष्ठ २०, २०८२

माधव अर्याल

Yarchagumba-like vegetation was also found in Phoksingkot forest of Palpa

पाल्पा — पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा वन क्षेत्रमा फेला परेको यार्चागुम्बा जस्तै देखिने वनस्पति छिमेकी फोक्सिङकोट क्षेत्रमा पनि फेला परेको छ ।

फोक्सिङ्कोट रम्भा गाउँपालिका–२ मा पर्छ । केही दिनअघि ३ को पिपलडाँडास्थित पोसपाखा रिमिघा सामुदायिक वन क्षेत्रमा सुन्तला लगाउन खाल्डो खन्ने क्रममा यार्चा जस्तै देखिने वस्तु फेला परेपछि परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाएको छ ।

फोक्सिङ्कोटका स्थानीयले पनि रिमिघा लेकको उत्तरपुर्व क्षेत्रमा खोजी गर्दा यार्चा जस्तै देखिने वनस्पति फेला परेको वडाध्यक्ष चेतबहादुर सुनारीले जानकारी दिए । उनका अनुसार १ हजार ७ सय ९४ मिटरको उचाईमा यार्चा जस्तै देखिने वनस्पति फेला परेको हो ।

‘फोक्सिङकोटको फोक्सिङडाँडा जो रिमिघाडाँडा (लेक) क्षेत्रमै पर्छ,’ उनले भने, ‘लगभग उस्तै उचाईमा यार्चाजस्तै वनस्पति फेला परेको छ । यसको अध्ययन होस् भन्ने नै हो ।’ रिमिघा क्षेत्र उचाईमा रहेको ठूलो जंगल क्षेत्र पर्छ ।

गाउँपालिकाले सर्वसाधारणलाई पिपलडाँडाको रिमिघा लेकमा प्रवेशमा रोक लगाएलगत्तै डिभिजन वन कार्यालयले पनि रोक लगाएको सूचना जारी गरेको छ । डिभिजन वन प्रमुख नारायणदेव भट्टराईका अनुसार रम्भा गाउँपालिका–२ फोक्सिङ्कोट र ३ पिपलडाँडास्थित रिमिघा जंगलको क्षेत्रको राष्ट्रिय वन क्षेत्रमा वन संरक्षणको दृष्टिकोणबाट अति आवश्यक देखिएकोले जेठ २९ गतेसम्मका लागि सर्वसाधारण नागरिकलाई प्रवेशमा रोक लगाइएको छ ।

रिमिघा जंगलको सम्पूर्ण क्षेत्रमा मानिस आवतजावतको लागि र कुनै प्रकारको घरपालुवा चौपाया प्रवेश गराउन रोक लगाइएको डिभिजन वन प्रमुख भट्टराईले बताए । वन ऐन, २०७६ को दफा ९ बमोजिम निषेध गरिएको छ भने यस आदेशको उलंघन गरेमा वन ऐन, २०७६ को दफा ४९ को (थ) बमोजिमको कसुर हुने हुने जनाइएको छ । 

ऐनको दफा ५० को (१४) बमोजिम ६ महिनासम्म कैद वा १० हजारसम्म जरिवाना र दुवै सजाय हुने व्यवस्था रहेको छ ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully