रिब्दीकोटमा प्रांगारिक मल उद्योगबाट उत्पादन सुरु

गाउँपालिकाको सहयोगमा सहकारीद्वारा प्रांगारिक मल उद्योग स्थापना, किसानलाई सहुलियत दरमा बिक्री सुरु

जेष्ठ २०, २०८२

माधव अर्याल

Production started from organic fertilizer industry in Ribdikot

पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिकास्थित जलेश्वर बहुउद्देश्यीय सहकारी संस्था कुसुमखोलाले रिब्दीकोट प्रांगारिक मल उद्योगबाट उत्पादन सुरु गरी बिक्री थालेको छ । रिब्दीकोट गाउँपालिका, सहकारीमा आबद्ध किसान र सहकारीको गरी पब्लिक, प्राइभेट पार्टनरसिपको अवधारणा अनुसार प्रांगारिक मल कारखाना खोलेका हुन् ।

खेतबारीमा रासायनिक मलको प्रयोग बढ्दा जमिनमा अम्लियपन बढ्दै गएको प्रतिवेदनपछि सहकारी र किसानको साझेदारीमा प्रांगारिक मल उत्पादन गरेको हो । रिब्दीकोट गाउँपालिका–५, नयाँटोलमा मल उद्योग रहेको छ । रिब्दीकोटस्थित जलेश्वर बहुउद्देश्यीय सहकारी संस्थाले यसलाई व्यवस्थापन गरेको छ । जलेश्वर मन्दिरको जग्गा लिजमा लिएर पूर्वाधार निर्माण गरिएको छ । मलको मूल्य प्रतिकेजी २५ रुपैयाँ राखिएको छ । उद्‌घाटनका अवसरमा किलोमा ५ रुपैयाँ सस्तो बिक्री गरिएको सहकारीले जनाएको छ । प्रांगारिक मल कारखानाको लुम्बिनी प्रदेशसभाका सभामुख तथा सोही क्षेत्रबाट निर्वाचित प्रदेशसभा सदस्यमा निर्वाचित तुलाराम घर्ति (बसन्त) ले उद्घाटन गरे । 

उनले रिब्दीकोट गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष प्रांगारिक मल कारखाना खोल्ने नीति तथा कार्यक्रममा समेटेको र यस वर्ष लुम्बिनी प्रदेश सरकारले पनि यही विषयलाई जोड दिएको बताए । ‘दैनिक कम्तीमा ५ सय र बढीमा एक हजार किलोसम्म उत्पादन गर्ने क्षमता भनेको ग्रामीण भेगमा राम्रो हो,’ उनले भने, ‘लुम्बिनी प्रदेशको नीति र रिब्दीकोट गाउँपालिकाको पहल व्यवहारिक देखिएको छ ।’ उनले लुम्बिनी प्रदेश सरकारसंग सहकार्य गरेर अघि बढ्न उनले सुझाव दिए । जनताले प्रांगारिक मलको प्रयोग गर्ने व्यवहारिक अभ्यासको थालनी गरेको उनले बताए ।  

गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले किसानले खेती गर्दा दैनिक मिहिनेत गर्दा पनि त्यस अनुसार उत्पादन नभएको भन्ने गुनासोलाई सम्बोधन गर्न प्रांगारिक मल कारखाना खोल्ने योजना बनेको बताए । ‘खेती गर्दा खेतबारीमा उत्पादन कम हुँदै गएको गुनासो सम्बोधन गर्नका लागि सहकारीसँग सहकार्य गरेका हौँ,’ उनले भने, ‘अहिले सानो लगानी भए पनि पछि यसलाई बिस्तार गर्न सकिनेरहेछ ।’ गाउँपालिकाको १९ लाख, सहकारीको २० लाखमा मल कारखानाबाट बिक्री सुरु गरेको छ । 

स्थापनाकालमा ४५ लाख खर्च हुने अनुमान सहकारीको थियो । सहकारीले कारखानाका लागि तीन रोपनी जग्गा लिजमा लिएको छ । एक रोपनीमा कारखाना र बाँकी जग्गामा पशुपालन र कृषि गर्ने योजना सहकारीको छ । गाउँपालिकाले दुई पटक गरी सहकारीलाई १९ लाख अनुदान दिएको सहकारीका अध्यक्ष शिव कुँवरले बताए । 

माटो तथा मल परीक्षण प्रयोगशाला खजुरा बाँकेले पाल्पाको रिब्दीकोटमा गरेको परीक्षणले माटोमा अम्लीय र केही स्थानमा क्षारीयपन देखिएको थियो । पछिल्लो समयमा कृषिबालीमा जथाभावी रासायनिक मल र विषादीको बढ्दो प्रयोगले माटोको गुणस्तर बिग्रदै गएकाले प्रत्येक पालिकाले सानासाना यस्ता कारखाना खोल्न सक्ने प्रांगारिक मल उत्पादनका विज्ञ यमबहादुर दर्लामीले बताए । माटोको उर्वराशक्ति नै घट्दा उत्पादनमा समेत असर पुगेका बेला यस्ता कारखानामा उत्पादित मलले माटोको गुणस्तर सुधारमा सहयोग पुग्ने उनले बताए । 

अमृतबुटी जैविक मल नाम दिइएको यसमा वनमारा, तितेपाती र पहाडी झारपात मिलाइएको छ । साथै बोनमिल, पिना, बायोब्याक्टेरिया, सुडोमोनस, ट्राइकोडर्मा, सीविड, क्याल्सियम, गोबर र प्रेस मड जैविक मलमा प्रयोग गरिएको विज्ञ दर्लामीले जानकारी दिए । यसमा नाइट्रोजन १ प्रतिशत, फस्फोरस ०.५ प्रतिशत, पोटास १ प्रतिशत, चिस्यान २५ प्रतिशत, पिएच ७ प्रतिशत रहेको छ । उत्पादन गरी प्याकिङ भएको मितिले बढीमा दुई वर्षसम्म प्रयोग गर्न मिल्छ । 

Production started from organic fertilizer industry in Ribdikotमल उद्योगको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सभामुख तुराराम घर्ति । तस्बिर : माधव अर्याल/कान्तिपुर

रासायनिक मलको अधिक प्रयोगले पहाडी जिल्लाका कतिपय ठाउँमा झारसमेत उम्रन छाडेको कुसुमखोलाकी किसान गोमा थापाले बताइन् । रिब्दीकोट गाउँपालिकाको पालुङमैनादी, कुसुमखोला, ठिमुरे, खस्यौली लगायतमा व्यवसायिक तरकारी र फलफूल खेती हुन्छ । तर केही वर्षयता रिब्दीकोटको माटोको गुणस्तर निकै बिग्रेको कृषि शाखा प्रमुख प्रज्ञा लाम्टाङ्गेले बताए । ‘विगतका वर्षमा माटो परीक्षण गर्दा रासायनिक मलको मात्रा नमिलाई राख्दाको परिणाम गुणस्तर बिग्रदै गएको देखिएको थियो,’ उनले भनिन्, ‘त्यसैले अब प्रांगारिक मलको प्रयोग बढाउनुपर्ने हुन्छ भन्ने लाग्छ । यसले माटोको गुणस्तर सुधार भएर उत्पादनमा पनि सहयोग पुग्छ ।’ 

उत्पादन घट्दै गएपछि गाउँका कतिपय खेतबारीमा खेती लगाउनै छाडेका छन् । उब्जाउ कम हुने भएपछि उत्पादन घट्दै गएको छ । कतिपय स्थानमा खेती नै नहुने समस्या बढेको छ । कारण खोज्दै माटो परीक्षण गर्दा उर्वराशक्ति ह्रास भेटिएको उनले बताइन् । कृषिविज्ञका अनुसार पहाडी क्षेत्रमा खेतीयोग्य माटोको पिएच मान८ हुनुपर्नेमा अधिकांश स्थानमा ४.५ मात्रै देखिएको छ । 

माटोको उर्वराशक्ति घटेको किसानको गुनासाका आधारमा गाउँपालिकाले प्राय सबै वडाको माटो परीक्षण गरेको छ । माटोको परीक्षण र उपचार थाहा नपाएर निराश थिए । यहाँका कतिपय पालिकाहरुमा माटो परीक्षण शिविर नै चलाएपछि बल्ल किसानले कस्तो माटोमा कुन बाली लगाउने भन्ने थाहा पाएका छन् । माटोलाई मर्न नदिन, अम्लीयपन बढ्नबाट रोक्न र उत्पादन बढाउन प्रांगारिक मलको प्रयोग बढाउनुपर्ने गाउँपालिकासँगको सहकार्यमा कृषि परियोजना सञ्चालन गरेको ग्रामीण आर्थिक विकास संघ रेडाका कार्यकारी निर्देशक लीलाबहादुर कार्कीले बताए । 

Production started from organic fertilizer industry in Ribdikot

गाड्यौला मल तथा घरमै तयार हुनसक्ने प्रांगारिक मल उत्पादन गर्न विज्ञको सुझाव छ । ‘यसैलाई मध्यनजर गरेर प्रांगारिक मलको कारखाना सञ्चालन गर्ने निर्णय गरियो,’ रिब्दीकोट गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले भनिन्, ‘अहिले अनुदान लिने र पछि बन्द गर्ने काम नहोस् । अनुदानले लामो अवधिभर किसानलाई सुविधा दिने काम होस् ।’ उनले पालिकाभरि सबै किसिमको कृषि उत्पादन बढाउन, बाँझा भएका जमिनहरूलाई हराभरा बनाउन मल कारखाना सहयोगी बन्नुपर्ने उनले बताइन् । कृषि विज्ञका अनुसार रासायनिक मलको अधिक प्रयोगले मानिसको स्वास्थ्य अवस्थासमेत बिग्रँदै गएको छ । 

माटोको पीएच ६ दशमलव ५ भन्दा कम भए अम्लीय, ७ दशमलव ५ सम्म भए मध्यम र सोभन्दा माथि भए क्षारीय हुन्छ । किसानले रासायनिक मल र विषादीको जथाभावी प्रयोग गर्दा पिएच मानसँगै नाईट्रोजन, फस्फोरस र पोटास पनि अति न्यून रहेको भेटिएको थियो । अधिकांश स्थानमा माटोको गुणस्तर बिग्रँदै गएको देखिएको छ । ‘म बनाउँछु मेरो रिब्दीकोट’ अभियान अन्तर्गत पालिकाभित्र मल कारखाना निर्माण भएकाले आगामी दिनमा कृषि उत्पादन बढाउन र माटोको गुणस्तर सुधार्न सहयोग पुग्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताए । 

सहकारीसँगको साझेदारीले दिगो रुपमा सञ्चालन हुने विश्वास रहेको उनले बताए । पछिल्ला वर्षमा रासायनिक मल मात्रा मिलाएर बजारमा नपाइने भएकाले खेतीबाली उब्जनीमै समस्या बढेको छ । समयमा रासायनिक र जैविक दुवै मल किसानले भनेको समयमा नपाउने समस्या छ । व्यावसायिक कृषि गर्नेहरुका लागि मलको अभाव टार्न जैविक मलले सहयोग पुग्ने सहकारीका व्यवस्थापक नारायण बहादुर लाम्टाङ्गेले बताए । रिब्दीकोटको पहिचान कृषि भएपनि उत्पादन घट्दै जानु माटो बिग्रेर हो भन्ने निष्कर्षका साथ मल कारखाना स्थापना गर्ने योजना अघि बढेको पूर्ववडाध्यक्षसमेत रहेका लाम्टाङ्गेले बताए । 

रिब्दीकोटमा अकबरे खुर्सानी, सुन्तला, अदुवा, बेसार, तरकारी उत्पादन हुने गरेको छ । यहाँ अकबरे खुर्सानी ५ करोड, सुन्तला ७ करोड, तरकारी २ करोड बढीको वार्षिक उत्पादन हुन्छ । प्रांगारिक मल कारखानाबाट यस क्षेत्रमा उत्पादन वृद्धि हुने र स्थानीयले रोजगारी पाएको उनले बताए । ‘दैनिक ७/८ जनाले रोजगार पाएको अवस्था छ,’ उनले भने । यसलाई दिगोरुपमा सञ्चालनका लागि ५१ प्रतिशत सहकारी र ४९ प्रतिशत जनताको लगानी गर्ने योजना रहेको उनले बताए । 

मल कारखानामा गाईभैंसीको गोबरबाहेक स्थानीय झारपात, खसेका पात पतिंगर, हरिया घाँस तथा स्याउलालगायत स्थानीय कच्चा पदार्थको प्रयोग गरिएको जलेश्वर सहकारीका सचिव कृष्ण कुँवरले बताए । गाउँपालिकामा झण्डै ७ सय परिवार व्यवसायिक कृषिमा आबद्ध छन् । सामान्य जीवन निर्वाहका रुपमा खेतिपाती गर्दै आएका छन् । प्रांगारिक मल कारखानापछि थप एक हजार परिवारलाई व्यवसायिक रुपमा कृषि गर्ने बनाउने योजना गाउँपालिकाले जनाएको छ । 

Production started from organic fertilizer industry in Ribdikot

पछिल्लो समयमा गाउँघरमा बसाइँसराईका कारण पछिल्लो समय गोठे मलको अभाव रहेको गाउँपालिकाका पूर्वअध्यक्ष नारायणबहादुर जीसीले बताए । जैविक मल कारखानाले रिब्दीकोट गाउँपालिकाभित्रका किसानका लागि मात्र वितरण गर्न सके पनि माटोको गुणस्तर सुधार भइ उत्पादन बढ्ने उनले बताए । सरकारको २०७८ को प्रांगारिक तथा जीवाणु मल निर्देशिकाको मापदण्ड अनुसार कारखानाबाट मल उत्पादन गरिएको छ । निर्देशिका अनुसार स्थानीयस्तरमा प्रांगारिक मल तथा जीवाणु मलको व्यवस्थापनका लागि उपप्रमुख वा उपाध्यक्ष संयोजक, प्रमुख प्रशासकीय अधिकृत र कृषि शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ । 

वस्तुगोठमा बन्नै छाड्यो जैविक मल

गाउँमा व्यवसायिक तरकारी खेती गर्ने किसानले घर–घरमै जैविक विषादी र मल उत्पादन गर्न छाडेका छन् । उनीहरूले रासायनिक मल र बजारमा पाइने घातक विषादीको प्रयोग बढाउँदै गएका छन् । व्यवसायिक तरकारी तथा फलफूल खेती हुने सोमादी, मुझुङ्, छहरा, देउराली, तेल्घा, मस्याम, मदनपोखरा, तेल्घा, मस्याम, भैरवस्थान, खस्यौली, बन्दीपोखरा, चिर्तुङधारा, पोखराथोक, कसेनी, रुप्से, चापपानी लगायतका स्थानमा पहिले जैविक विषादी र मल प्रयोग गर्थे । 

अहिले किसानले गाईवस्तु, भैंसी पाल्न छाडेका छन् । जसले गर्दा गोबर मलको प्रयोग घटेको छ । ‘गाउँमा गाईवस्तु पाल्ने किसानले अहिले खनजोतका लागि ट्रिलर, मिनी ट्रिलर प्रयोग गर्छन्,’ अगुवा किसान खिमप्रसाद पोखरेलले भने, ‘जसले गर्दा गोबर मल प्रयोग कम भएको छ । माटोमा अम्लिय र क्षारियपन बढेको छ ।’ किसानका अनुसार जिल्लाका अधिकांश स्थानमा उत्पादन हुने तरकारीमा विषादीको अत्यधिक प्रयोग बढेको छ । विषादीको जाँचसमेत गरिएको छैन । जसले मानव स्वास्थ्यका लागि प्रयोग गर्न नमिल्ने अवस्थामा पुगेकासमेत प्रयोगमा आउने गरेको छ । 

प्रायः सबै गाउँमा उत्पादित तरकारीमा पनि विषादी र रासायनिक मलको प्रयोग बढेको छ । विगतमा स्थानीय संघसंस्था र केहीमा कृषि विकास कार्यालयले घरघरमै जैविक विषादीका लागि आवश्यक सामग्री जुटाउने गरेको थियो । २०७४ पछि ती सबै अभियान रोकिएको छ । कृषकले तरकारीमा रासायनिक मल र विषादी प्रयोग गर्ने झन् बढेका छन् । किसान हुमानसिंह कार्कीका अनुसार माटोको गुणस्तर सुधार गर्न घरघरमै जैविक मल बनाउने उद्योगजस्तै स्थापना गर्नुपर्छ । 

गाईवस्तु र मानिसको पिसाबमा तितेपाती, निम, वनमारा, सिस्नो, बकाइनोजस्ता ४० थरीका जडिबुटी र जंगली बिरूवा कुहाएर जैविक विषादी बनाउनुपर्ने उनको सुझाव छ । गाउँघरमै पाइने वनस्पतिहरूको मिसावटबाट तयार गरिएको जैविक विषादी गोलभेडा, खुर्सानी र तरकारीका लागि प्रभावकारी हुन्छ । घरमा बनाएको विषादी र मल पैंचोका रूपमासमेत प्रयोग गर्नुपर्ने अगुवा किसान मनबहादुर थापाले बताए । रासायनिक मल र रासायनिक विषादीले मानव स्वास्थ्यमा पार्ने असर र जैविक मल साथै विषादीको प्रयोगका बारेमा जानकारी दिनुपर्ने उनले बताए । रासायनिक विषादी र मलको प्रयोगमा कटौती गर्नुपर्ने उनको सुझाव छ । घरघरमा जैविक मल बनाउन खाल्डा खन्ने, विषादी तयार पार्न ड्रम राख्ने र पिसाब संकलन गर्न टंकी बनाउन स्थानीय तहले सहयोग गर्नुपर्ने उनले बताए ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully