समृद्धि र विकासको जगमा आगामी वर्षको बजेट निर्माण गर्छौं: मुख्यमन्त्री आचार्य

जेष्ठ १९, २०८२

दुर्गालाल केसी

We will prepare next year's budget on the foundation of prosperity and development: Chief Minister Acharya

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशको समृद्धि र विकासलाई केन्द्रमा राखेर आगामी बजेट निर्माण गरिने बताएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आयोजना तथा दायित्व अभियानको समन्वयमा सोमबार राप्ती उपत्यका देउखुरीमा आयोजित शासकीय सुधार, आर्थिक विकास र युवा उद्यमशीलतासम्बन्धी नीति संवाद कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले वर्तमान नीति तथा कार्यक्रमले उठाएका प्राथमिकतालाई बजेटले सम्बोधन गर्ने बताएका हुन् ।

`सरकारले धेरै मिहिनेत गरेर नीति तथा कार्यक्रम ल्याएको छ । त्यसको जगमा नै उभिएर बजेट ल्याउँछौं । अहिले मन्त्रालयगत तहमा यही दिशामा काम अघि बढेको छ,´मुख्यमन्त्री आचार्यले भने, `नीति तथा कार्यक्रम र बजेट एकअर्कासँग अन्तरसम्बन्धित हुन्छन् । एकअर्कालाई जोड्ने गरी काम अघि बढेका छन् ।’

प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनीमा स्रोत वृद्धिका लागि ध्यान दिइने बताए।

पूर्वअर्थसचिव रामेश्वर खनालले कृषि, उद्योग, व्यापार, पर्यटन, नवीकरणीय ऊर्जा र खानीका क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै सबल नीति कार्यान्वयनबाट लुम्बिनीलाई आर्थिक केन्द्र बनाउन सकिने बताए ।

पूर्वसचिव कृष्ण ज्ञवालीले प्रदेश सुदृढ बनाउन सुशासन प्रवर्द्धनमा प्राथमिकता दिनुपर्ने सुझाव दिए । उनले विधि, विवेक र आचरणमा सुधार गर्दै सदाचारको अभ्यास आवश्यक रहेको बताए ।

दायित्व अभियानका अध्यक्ष पुकार मल्लले उद्यम–केन्द्रित रोजगारी सिर्जनामा जोड दिनुपर्ने धारणा व्यक्त गरे । कार्यक्रममा लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कविन्द्र नेपालले सार्वजनिक चासो र सरोकारका विषयमा छलफल गर्दै परिमार्जन र सुझाव लिने गरी नीति संवादलाई चरणबद्ध रूपमा निरन्तरता दिइने जानकारी दिए ।

दुर्गालाल केसी केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully