दाङमा लागूऔषधसहित दुई महिला पक्राउ

जेष्ठ १९, २०८२

दुर्गालाल केसी

Two women arrested with drugs in Dang

दाङ — घोराही र तुलसीपुरबाट अवैध लागूऔषधसहित दुई महिला पक्राउ परेका छन् । घोराही उपमहानगरपालिका- १४ मिलन चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरीले सोमबार खानतलासी गर्दा एक महिला पक्राउ परेकी हुन् ।

पक्राउ पर्नेमा थवाङ गाउँपालिका-१, रोल्पा घर भई हाल मिलन चोक बस्दै आएकी ६३ वर्षीय मायादेवी विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक कविराज रोकायले बताए । विकको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठाबाट ९ किलो ८२० ग्राम गाँजा र ५३ ग्राम चरेस बरामद भएको उनले बताए ।

त्यसैगरी तुलसीपुर उपमहानगरपालिका-७ शिवनगरमा लागूऔषध ब्राउन सुगरको कारोबार भइरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा सोमबार २१ वर्षीया प्रतिभा विश्वकर्मालाई पक्राउ गरेको छ।

तुलसीपुर उपमहानगरपालिका-४ घोरनेठी घर भएकी विश्वकर्माको साथबाट २६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद भएको रोकायले बताए । उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully