बर्दिया — छ दिनदेखि चितुवाको खोजीमा वन, प्रहरी, स्थानीय लागि रहेको अवस्थामा आइतबार पुन: एक बटुवालाई आक्रमणको प्रयास गरेपछि बालापुरका बासिन्दा त्रसित भएका छन् । चितुवालाई नियन्त्रणमा लिने प्रयास असफल बन्दै गएपछि स्थानीयले हिजोदेखि हातमा लट्ठी, हँसिया लगायतका घरेलु हतियारसहित खोजीमा लागेका छन् ।
बासगढी नगरपालिका दमौलीबाट साइकलमा आइरहेको समय चितुवाले आक्रमण गर्ने प्रयास गरेपछि गाउँलेले चितुवालाई लखटेका थिए । थारु सामुदायिक वनको घना झाडी र पाक्न लागेको मकैबारीमा चितुवा पसेको आशंका गरिएको छ । गुलरिया नगरपालिका–५ का वडा सदस्य शोविन्द्रबहादुर चौधरीले चितुवाको आतंकले गाउँलेहरू ज्यान जोगाउन हातमा लट्ठी, हँसिया लिएर पहरा दिइरहेको बताए ।
‘गाउँले चितुवाको आतंकले त्रसित छन्,’ उनले भने, ‘अभिभावक दिनरात बालबालिका जोगाउनतीर लागेका छन् ।’ चितुवाको खोजीमा दुई वटा हात्ती, प्राविधिक टोलीसहित ४० जना वन, बर्दिया निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी खटिएको डिभिजन वन कार्यालय, बर्दियाका सूचना अधिकारी रामकुमार चौधरीले बताए ।
चितुवा पुनः आक्रमण गर्न सक्ने भएकाले स्थानीय त्रसित बनेका हुन् । चितुवाले एक बटुवालाई आक्रमणको प्रयास गर्न थालेपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका ठूलो संख्यामा परिचालन गरिएको छ । गत बुधबार बिहान गुलरिया नगरपालिका–५ बालापुरकी ५ वर्षीया बालिका सायरा थारुलाई चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो ।
गत वैशाख १५ गते गुलरिया–८ स्थित सयु सामुदायिक वनमा ९ वर्षीया मेलिना खड्काको पनि चितुवाको आक्रमणमा मृत्यु भएको थियो ।
गत मंसिर यता चितुवाको आक्रमणमा बर्दियामा चार जनाको ज्यान गइसकेको छ । यसै अवधिमा चितुवाको आक्रमणमा १६ जना घाइते भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
