दाङ — तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका-१० दक्षिण अमराईमा सवारी साधनको ठक्करबाट दुर्लभ वन्यजन्तु भाले हुँडारको मृत्यु भएको छ।
डिभिजन वन कार्यालय, घोराहीका अनुसार मृतक भाले हुँडारको लम्बाइ करिब ५ फिट र शरीरको गोलाइ १६ इन्च रहेको छ। हुँडारको अनुमानित उमेर ८ देखि १० वर्षको बीचमा रहेको कार्यालयको अनुमान छ । आइतबार राति ठक्कर दिएर सवारी साधन भागेको र हालसम्म पत्ता लाग्न नसकेको प्रहरीले जानकारी दिएको छ ।
हुँडारको संख्या घट्दै गएकाले यसलाई संरक्षित वन्यजन्तुअन्तर्गत राखिएको छ । नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन-२०२९ अनुसार संरक्षित वन्यजन्तुअन्तर्गत राखिएको छ । अन्तर्राष्ट्रिय बजारमा भुवाका लागि लागि हुँडारको तस्करी हुने गरेको छ ।
