यार्चाजस्तै वस्तु भेटिएको पाल्पाको जंगलमा प्रवेश निषेध

जेष्ठ १९, २०८२

माधव अर्याल

Entry prohibited in Palpa forest where Yarcha-like objects were found

पाल्पा — यार्चागुम्बा जस्तै वस्तु भेटिएको पाल्पाको रम्भा गाउँपालिका–३, पिपलडाँडाको रिमिघा वन क्षेत्रमा सर्वसाधारणलाई प्रवेश निषेध गरिएको छ ।

फेला परेका ती वस्तु प्रयोगशाला परीक्षणका क्रममा रहेकाले रिमिघा जंगल क्षेत्रमा सर्वसाधारणलाई प्रवेशमा रोक लगाइएको पालिकाले जारी गरेको सार्वजनिक सूचनामा उल्लेख गरिएको छ ।

खाल्डा खन्ने क्रममा पोसपाखा सामुदायिक वनको जंगल क्षेत्रमा यार्चागुम्बाजस्तै देखिने वस्तु फेला परेका थिए । ती वस्तुको प्रयोगशाला परीक्षणको कार्य जारी रहेको हुँदा अर्को सूचना नभएसम्मका लागि जंगल क्षेत्रमा प्रवेश नगर्नु, नगराउन सार्वजनिक सूचना जारी गरेको हो । सार्वजनिक सूचनाको बर्खिलापमा गई वन क्षेत्रमा प्रवेश गरेको भेटिएमा प्रचलित कानुन बमोजिम कारबाही हुने प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनले बताए ।

जंगल क्षेत्रको खोल्सी तथा चिस्यान क्षेत्रमा यार्चागुम्बाजस्तै वस्तु भेटिएको हो । रिमिघा लेकमा झाडी सरसफाइ गरेर सामुदायिक वन क्षेत्रमा सुन्तलाको बिरुवा लगाउने तयारी गर्दा खाल्डो खन्दै गर्दा यस्ता प्रजाति भेटिएको गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए । डिभिजन वन कार्यालयले वन कर्मचारी खटाएर संकलन गरी तथ्य जाँचका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटार, ललितपुर पठाएको डिभिजन वन प्रमुख नारायणदेव भट्टराईले जानकारी दिए । रम्भा गाउँपालिकाका कर्मचारीलाई पत्र र नमुना दिएर ललितपुर पठाइसकेको उनले बताए । 

‘जंगल क्षेत्रमा भेटिएको यार्चा परीक्षणका लागि प्रयोगशालामा पठाइसकिएको छ,’ उनले भने । प्रयोगशालाको रिपोर्ट आएपछि बल्ल के रहेछ निश्चित हुने उनले बताए । रिमिघा लेक १ हजार ८ सय मिटरको उचाइमा रहेको छ । ‘अहिले देख्दा यार्चा जस्तै देखिएको छ,’ डिभिजन वन अधिकृत भट्टराईले भने, ‘प्रयोगशालाको रिपोर्ट आएपछि बल्ल के रहेछ भन्ने थाहा हुन्छ ।’

यार्चाको जमिनमुनिको भाग ४ मिलिमिटर मोटो र ४ सेन्टिमिटर जति लामो हुन्छ । माथिको भाग मसिनो ५–६ सेन्टिमिटर जति लामो हुन्छ । उचाइ अनुसार नमिले पनि प्रजाति उस्तै र यार्चाकै आकार र रंग भएकाले अनुसन्धानका लागि पठाइएको उनले बतए ।

माधव अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully