रोल्पा — रोल्पाको सदरमुकाम लिबाङदेखि सडक मार्फत् बढीमा दुई घण्टाभित्रमा धबाङका साउनेपानी, गापा र ठूलो गाउँभित्रका स–साना गाउँमा पुग्न सकिन्छ । रोल्पा नगरपालिका १० भित्र रहेका यी गाउँ कृषि उत्पादनमा जिल्लामै चिनिएका छन् । तरकारी, फलफूल र अन्न उत्पादन पर्याप्त हुने भएकाले वर्षौदेखि स्थानीयले यी उत्पादनबाटै खर्च चलाउने गरेका छन् ।
यस्तै धबा–लिबाङ जत्तिकै दूरीमा रहेको अर्को वडा हो ९ नम्बर । रोल्पा नगरपालिका–९ मा पर्ने होमाका सुन्दर गाउँ लिवन, फाल्जा, ठूलो गाउँ, कर्तमलगायतमा पनि अन्न, तरकारी र फलफूलको उत्पादन प्रशस्त हुन्छ । जडीबुटीको उत्पादनमा पनि होमा र धबाङ चिनिएकै हुन् ।
यी दुवै वडाका गाउँमा अल्लो उत्पादनको प्रशस्त सम्भावना भएका गाउँ हुन् । यीबाहेक होमा र धबाङमा भेडा र बाख्रापालनस्थलका रुपमा पनि चिनिएका छन् । सदरमुकाम लिबाङदेखि उच्च हिमाडी भेगसम्म सीमा जोडिएकाले जलजला क्षेत्र मुनि भेडापालन पेशा मौलाएको छ ।
उच्च हिमाली भेगसम्म भेडा र बाख्रा पालन गर्ने भएकाले यहाँका खसी र बोकाको मूल्य अन्यत्र पालिएका भन्दा बढी छ । यहाँ पालिएका खसी महंगोमा बिक्री हुने गरेको छ । हिमाली जडीबुटीमा चराउन लैजाने भएकाले उपभोक्ताले खसी र बाख्रा महंगोमा खरिद गर्ने चलन छ ।
रोल्पा सदरमुकाम लिबाङबासीका लागि आवश्यक तरकारी, फलफूल, अन्नपात र अन्य घरायसी सामान लिबाङ नजिकैका गाउँ धबाङ र होमाबासीले नै ल्याइपुर्यााउँछन् । वर्षौंअघिबाट धबाङबासी र होमालीले आफ्ना उत्पादन बिक्री गर्ने ठाउँ नै लिबाङ हो । फर्केर जाँदा दुवै गाउँबासीले नुनतेल, लत्ताकपडा र घरायसी सामान लैजान्छन् । यो क्रम वर्षौंदेखि चलिरहेको छ । होमा र धबाङलाई नगरपालिकाभित्र पारे पनि मापदण्ड र विकासका हिसाबले यी गाउँ निकै दुर्गममा पर्छन् ।
धबाङमा वार्षिक रुपमा उत्पादन हुने १८ हजार क्वीन्टल आलु, १० हजार क्वीन्टल सुन्तला, ५ हजार क्वीन्टल मकैको बिक्री गर्ने पहिलो र एकमात्र बजार लिबाङ नै हो । वडा कार्यालयका अनुसार धबाङबाट वाार्षिक रुपमा करिब ७२ लाखको आलु, ५० लाखको सुन्तला, २० लाखको मकै र करिब १० लाखको कागती, तरकारी, सिमी र भाँगो बिक्री हुन्छ । यीबाहेक हरेक महिनामा उत्पादन गरिएका उत्पादनको बिक्री हुने क्रम र नियमित आन्दानी उस्तै छ ।
धबाङ वडाका अध्यक्ष मतिलाल डाँगीले कृषि उत्पादन पर्याप्त भएकाले उहाँको उत्पादनले सदरमुकाम लिबाङबासीलाई सजिलो भएको बताए । ‘धबाङ र होमाको उत्पादनले जिल्लामै र निर्यात गरेर टेवा पुर्याएको छ । तर विकासका योजनाले गाउँहरु छुन नसक्दा निकै दुःख लाग्छ । स्थानीय तहले मात्रै नभई माथिल्ला सरकारले ध्यान पुर्याउनु जरुरी छ,’ वडाध्यक्ष डाँगीले भने ।
कृषि उत्पादन र भौगोलिक दृष्टिकोणले सुन्दर एवं आकर्षक गाउँमा विजुली नपुग्नु पनि दुःखद् पक्ष छ । धबाङबासी युवा सफल बुढामगरका अनुसार धबाङका दर्जनौं गाउँमा बत्ती बलेको छैन । सरकारले मुख्य प्राथमिकतामा नपारेकाले गाउ अहिले पनि अध्याँरोमा छन् ।
उनका अनुसार पाल्पुलेधारा, लाटाबाङ, थाम, बजङगे, भरिपुप, नहेर, नाङबाङ, सिजा, क्याकै, ओखरेनी, पेवा, लुङजुङ, हेबाङ, राबाङ, दाम्फला, कुलुम्पा, छेडा, खार्बुङ, खानुङ, भोकासिबाङ र जेब्जबाङ लगायतका थुप्रै गाउँ एवं घरका बासिन्दाहरु अध्याँरैमा बस्छन् । चुनाबको बेला नेताहरुले सधैं विकासको कुरा गर्छन् ।
नगरमा दुवै निर्वाचनमा माओवादीका उम्मेदारले जितेका छन् । ‘निर्वाचमा ती वस्तीमा पुगेर भोट माग्ने तर जितेपनि पाइला पनि नटेक्ने बानी छ । अहिलेसम्म सर्वसाधारणले बत्ती पनि नपाउनु भनेको हदैसम्मको अन्याय हो,’ सफलले भने । स्थानीय तहको पहिलो निर्वाचनमा पूर्ण केसीले नगरप्रमुखमा जितेका थिए भने दोस्रो पटकको निर्वाचनमा माओवादीकै सुरेन्द्र घर्तीमगरले नगरप्रमुख जितेका थिए ।
वडाध्यक्ष डाँगी पनि माओवादीकै उम्मेदवार थिए । यस क्षेत्रबाट निर्वाचित भएर अर्थ एवं ऊर्जामन्त्री समेत भएका वर्षमान पुनले पनि बेवास्ता गर्नुमा स्थानीयले आफूमाथि धोका भएको प्रतिक्रिया दिएका छन् । शान्ति प्रक्रियापछि धेरै पटक धेरै मन्त्रालयको समेत नेतृत्व गरेका पूर्वउपप्रधानमन्त्री कृष्णबहादुर महरा पनि होमा र धबाङ गाउँका छिमेकी हुन् । महरा ती गाउँमा उत्पादन हुने कृषि उत्पादनका नियमित उपभोक्ता समेत थिए ।
सदरमुकाम लिबाङदेखि बढीमा १३ किलोमिटर टाढा पर्ने ती गाउँमा बत्ती नपुग्दा, मोबाइल र इन्टरनेट उपभोग गर्ने सम्भावना पनि छैन । जिल्ला प्रशासन कार्यालयमा कार्यरत धबाङ स्याकै निबासी शिक्षित युवा एवं पर्यटन उद्यमी शुकलाल घर्तीमगरले नेता धेरै भए पनि रोल्पामा सर्वसाधारणका लागि सामान्य काम पनि गर्न नसकेको प्रतिक्रिया दिए ।
‘नेता जति विभिन्न काण्डमा लागेको समाचार पढ्न पाइन्छ । विकास गर्ने भनेर विजय भएर राजधानी छिरेपछि जनता वा मतदाताले उनीहरुको अनुहार देख्न नपाउने अवस्था छ । यसरी गाउँको विकास कसरी होला र,’ धबाङ गाउँका पूर्व प्रधानपञ्च तुलबहादुर डाँगीले भने । उनले हालका जनप्रतिनिधिले सबैलाई बराबर ठानेर विकास योजना बाँडफाँड गर्ने नगर्दा पक्षपात भएको आरोप लगाए ।
‘विकास ल्याउनुअघि जनतासँग बसेर उनीहरुको चाहना बुझ्नुपर्छ । त्यस पनि आवश्कताका आधारमा मात्रै योजना बनाउने हो । योजना ल्याइसकेपछि पुनः जनतालाई काम गर भनेर सहभागिता बनाउनु पनि उत्तिकै आवश्यक छ,’ उनले भने ।
धबाङका पूर्ववडाध्यक्ष मानबहादुर खत्रीले वडा, नगर र केन्द्रसम्मै माओवादीका प्रतिनिधि भएकाले उनीहरुले चाहेमा वडाको विकास सम्भव भएको बताए । आफ्नो पालामा विकास भित्र्याउने निकै पहल गरेको स्मरण गर्दै उनले भने, ‘स्थानीय तहमा एकलौटी जितेका माओवादीका नेताहरुले जनताको चाहना विकास हो र कुन ठाउँमा पहिलो प्राथमिकता दिनुपर्छ भन्ने जान्नु आवश्यक छ । यहाँ हामी त प्रतिपक्षमा पनि छैनौं ।’ उनी कांग्रेसका जिल्ला तहका नेता हुन् ।
उनले आफू अघिल्लो पटक वडा अध्यक्ष हुँदा र हालको अवस्थामा गरी धबाङको धाङ्सी ठूलो गाउँ, मुलाबारी, घुन्बाङ, बासधारा, ल्याङ्खुरीधारा, झिम्गा, तल्लो घुन्बाङ, यल्मागैरा, गिरुधारा, हाम्पाल, सानो चिउरीधारा र पाल्पुलेधाराका केही भागमा विजुलीका पोल मात्रै गाडिएको बताए । होमा र धबाङमा मोटरबाटो भने पुगेको छ । तर हिउँदमा मात्रै आउजाउ गर्न सकिने अवस्था छ ।
