खोलामा पुल नहुदाँ मैकोट पुग्न मुस्किल

जेष्ठ १७, २०८२

महेश केसी

Makot is difficult to reach as there is no bridge over the river

रुकुम पूर्व — बत्वा खोलामा पुल नहुँदा रुकुम पूर्वको पर्यटकीय गाउँ मैकोट पुग्न मुस्किल भइरहेको छ । सहिद मार्गको अन्तिम बिन्दु अर्थात् जिरो प्वाइन्ट मानिएको मैकोटसम्म सडकको ट्र्याक खुलेको भए पनि ठूलो पानी पर्दा सवारीसाधन खोलाबाटै वारपार हुने गरेका छन् ।

मध्य पहाडी लोकमार्गलाई भूमेको काक्रीमा छोडेर पुथाउत्तरगंगा गाउँपालिका–१ मैकोट गाउँसम्म पुग्न करिब ५५ किलोमिटर कच्ची बाटोमा यात्रा गर्नुपर्छ । हुकामपछि भेटिने मैकोट गाउँ पछिल्लो समय चर्चित भएको गाउँ हो । त्यस कारण यहाँ घुम्न आउनेहरूको सङ्ख्या बढेको छ । तर खोलामा पुल नहुँदा समस्या भइरहेको स्थानीय वीरेन्द्र बुढाले बताए ।

सहिद मार्ग योजना कार्यालय रोल्पा लिवाङमार्फत पुथाउत्तरगंगा–५ हुकामसम्म काम भइरहेको भए पनि त्यसअघि मैकोटसम्म भने गाउँपालिकाले नै ट्र्याक खोलेको र अहिले स्थानीय पूर्वाधार विकास कार्यालय बुटवलमार्फत बाटोको स्तरोन्नतिको काम भइरहेको पुथाउत्तरगंगा–१ का वडाध्यक्ष वीरमान विकले बताए ।

‘अगामी वर्षका लागि बेलीब्रिज परेको छ भन्ने सुनेका छौँ, तर पक्का थाहा छैन । यहाँ पुल नबनेसम्म आवतजावत गर्न मुस्किल छ,’ वडाध्यक्ष विकले भने, ‘अलिकति ठूलो पानी पर्दा खोला ह्वात्तै बढ्छ । अनि सवारी तार्न गाह्रो हुन्छ ।’

हाल सवारीसाधनहरू जसोतसो मैकोटसम्म पुगिरहेका भए पनि पानी पर्न सुरु भइसकेकाले अब सम्भव नहुने स्थानीयहरूले बताएका छन् । सवारीसाधन मैकोटसम्म नपुग्दा दैनिक उपभोग्य र अत्यावश्यक सामग्रीको आपूर्तिमा मुस्किल हुने उनीहरूको भनाइ छ ।

कुल २ सय २० किलोमिटर लामो सहिद मार्ग हाल घोराहीबाट सुरु भएर रोल्पा हुँदै रुकुम पूर्वको मैकोटसम्म पुग्छ । रुकुम पूर्वमा जम्मा ७५ किलोमिटर लामो यो मार्गअन्तर्गत रोल्पाको केही क्षेत्रमा ग्राभेल र कालोपत्रे गरिए पनि धेरैजसो स्थानमा ट्र्याक मात्रै खोलिएको छ ।

महेश केसी कान्तिपुरका रुकुम संवाददाता हुन् ।

Link copied successfully