रुकुम पूर्व — सहिदमार्ग सडक योजना अन्तर्गत रुकुम पूर्वका विभिन्न चार स्थानमा सडक डबल कटिङ गरेर चौडा बनाउने काम भइरहेको छ । घुम्ती नपुग्ने, साँघुरो स्थानमा यतिबेला काम गरिरहेको बताइएको छ ।
रुकुम पूर्व खण्डको पुथाउत्तरगंगा गाउँपालिकाका विभिन्न चार स्थान रिकाधुरीदेखि क्वुवाङ, क्युवाङदेखि तकसेरा, तकसेरा बजार र घट्टेखोलादेखि डिम्मुर गैराका विभिन्न थानमा सडक फराकिलो बनाउन काम गरिरहेको सहिदमार्ग योजनाका प्रमुख इन्जिनियर माधव अधिकारीले बताए ।
यी स्थानमा भ्याटसहित कुल ७ करोड ७२ लाख बजेट अन्तर्गत चालु आर्थिक वर्षभित्रका लागि सक्नेगरी सडक सुधारको काम भइरहेको अधिकारीको भनाइ छ । ‘सवारी सञ्चालन गर्न गाह्रो हुने ठाउँहरु तय गरेर तत्कालको सुधारका लागि काम थालिएको हो । यसलाई थप स्तरोन्नति गरेर अघि बढ्न नेपाल सरकारले बजेट सुनिश्चित गर्न जरुरी छ ।’
दाङको घोराहीबाट रोल्पा हुँदै रुकुम पूर्वको मैकोटसम्म फैलिएको यो सडक कुल २ सय २० किलोमिटर लामो छ । यस अन्तर्गत रुकुम पूर्वमा ७५ किलोमिटर पर्दछ । तत्कालीन माओवादी युद्धताका सुरु गरिएको यो आयोजना त्यसपछि विभिन्न समयमा बजेट विनियोजन गरिएको भएपनि कामले पूर्णता पाउन सकेको छैन । त्यसमा पनि रुकुम खण्डमा त झन् ट्र्याक खोलेर मात्रै छोडिएको छ ।
यो सडकको निर्माणका प्रभावकारिता आउन जरुरी रहेका बताउँदै मैकोटका भरत पुनले यो सडक जिल्लाको लाइफ लाइन भएको बताए ।
