चितुवा नियन्त्रणमा लिन रिङरोड बन्द

जेष्ठ १६, २०८२

कमल पन्थी

The ring road is closed to control the leopard

बर्दिया — वन प्रशासनले चितुवा नियन्त्रणमा लिन गुलरिया नगरपालिका–५ को वालापुरदेखि वडा नम्बर ४ को तुलसीपुर जोड्ने रिङरोडमा आउजाउ बन्द गराएको छ । 

थारु सामूदायिक वन क्षेत्र हुँदै गएको रिङरोड बन्द गरी चितुवालाई नियन्त्रणमा लिन दुई हात्तीसहित कर्मचारी परिचालन गरेको छ । रिङरोडबाट आउजाउ गर्दा जोखिम हुने र चितुवा नियन्त्रण गर्न गाहृो हुने भएकोले बन्द गरिएको डिभिजन वन कार्यालयले जनाएको छ । दुई दिनदेखि बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालयबाट प्राविधिक टोलीसहित कर्मचारी परिचालन भएका छन् ।

बुधबार बिहान गुलरिया नगरपालिका–५ वालापुरकी ५ वर्षीया बालिका सायरा थारुको चितुवाले आक्रमण गर्दा मृत्यु भएको थियो । डिभिजन वन कार्यालय, बर्दियाका सूचना अधिकारी एवं वरिष्ठ वन अधिकृत रामकुमार चौधरीले चितुवा नियन्त्रणका लागि ४० जना कर्मचारी खटिएको बताए । '२४ औं घण्टा चितुवा नियन्त्रणका लागि कर्मचारी परिचालित छन्,’ उनले भने, ‘वन क्षेत्र वरिपरि जोखिम भएकोले रिङरोड बन्द गरी खोजी कार्य भइरहेको छ ।'

वालापुर, सन्तोषी टोललगायत आसपासका क्षेत्रमा ड्रोन उडाएर चितुवाको अनुगमन भइरहेको छ । यसबाहेक सामुदायिक वनभित्र क्यामेरा ट्र्याप राखिएको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सुरक्षाका लागि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीलाई परिचालन गरिएको बताइन् । सुरक्षालगायत चितुवा नियन्त्रणका लागि दुई वटा हात्तीलगायत सम्बन्धित कार्यालयका प्राविधिक र कर्मचारी परिचालन भएको उनले जनाइन् । 

चितुवाको आक्रमणबाट गत वैशाख १५ गते गुलरिया–८ स्थित सयु सामूदायिक वनमा ९ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो । मंसिरयता चितुवाको आक्रमणमा बर्दियामा चार जनाको ज्यान गइसकेको छ । यसै अवधिमा चितुवाको आक्रमणमा १६ जना घाइते भएका डिभिजन वन कार्यालयले जनाएको छ ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully