बर्दिया — गुलरिया नगरपालिका–५ की ५ वर्षीया सायरा थारुलाई गत बुधबार बिहान चितुवाले आक्रमण गरी मारेको थियो । बालिकाको मृत्यु भएको तीन दिन पुगिसक्दा पनि परिवारले शव बुझेको छैन । मृतक बालिकाको शव बर्दिया अस्पतालमा राखिएको छ ।
गत बुधबार बिहान घर नजिकै रहेको शौचालयमा गएको बेला चितुवाले आक्रमण गरी बालिकाको ज्यान लिएको थियो । जबसम्म समस्याग्रस्त चितुवालाई सम्बन्धित निकायले नियन्त्रणमा लिइँदैन तबसम्म शव नबुझ्ने र दाहसंस्कार नगर्ने पीडित परिवारले अडान लिएको छ ।
सम्बन्धित निकायले समस्याग्रस्त चितुवालाई नियन्त्रणमा नलिएसम्म पीडित परिवारले शव नबुझ्ने अडान लिएको गुलरिया नगरपालिका–५ का वडा सदस्य सोबिन्द्र बहादुर चौधरीले बताए । ‘पीडित परिवारसँगै हामी जनप्रतिनिधि पनि उभिएका छौँ,’ उनले भने, ‘सम्बन्धित निकायले पहिला चासो देखाएको भए पुनः अर्को घटना हुँदैनथ्यो ।’
आफूहरुले चितुवा समात्न दबाब सिर्जना गरेपछि हात्तीसहितको टोली परिचालन भइसकेको गुलरिया नगरपालिका–५ का वडा अध्यक्ष मुमबहादुर मल्लले बताए ।
चितुवा नियन्त्रण लिन खटिएका दुई हात्ती । तस्बिर : रामप्रसाद चौहान/कान्तिपुर
चितुवाले निरन्तर आक्रमण गरिरहेको र सम्बन्धित निकायले चासो नदेखाएको भन्दै आक्रोशित स्थानीयले बुधबार दिउँसो प्रशासन घेराउ गरेका थिए ।
सो क्षेत्रमा करिब तीन महिना अघिदेखि पशु चौपाया र मानवलाई चितुवाले निरन्तर आक्रमण गरिरहेको छ । गत वैशाख १५ गते गुलरिया नगरपालिका–८ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट ९ वर्षीया मेलिना खड्काको मृत्यु भएको थियो ।
त्यसैगरि गत चैतमा चितुवाको आक्रमणबाट गुलरिया नगरपालिका–४ का ६५ वर्षीय बिक्कुलाल थारु र गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सिर्जन थारुलाई चितुवाले आक्रमण गरी घाइते बनाएको थियो ।
समस्याग्रस्त चितुवा नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको श्यामकली र राष्ट्रिय प्रकृति संरक्षण कोषको शान्तिकली नामक दुई हात्तीसहित १२ जनाको प्राविधिक टोली बिहीबारदेखि चितुवा नियन्त्रण लिन गुलरिया नगरपालिका–५ बालापुर थारु सामुदायिक वनमा खटिएको छ । उक्त टोलीको चितुवा नियन्त्रण लिने बिहीबारको प्रयास असफल रह्यो । शुक्रबार बिहानदेखि उक्त टोली पुन: परिचालन भएको छ ।
उक्त क्षेत्रमा ३ वटा केज, ३ वटा क्यामरा राखिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए । ‘ड्रोन उडाएर पनि चितुवाको मोनिटरिङ गरिरहेका छौँ,’ उनले भने, ‘समस्याग्रस्त चितुवा नियन्त्रण लिन हाम्रो प्रयास जारी छ ।’
