आफैंले हुर्काएकी नातिनीको चितुवाको आक्रमणबाट मृत्यु, हजुरआमा विक्षिप्त

वैशाख १५, २०८२

रामप्रसाद चौहान 

Granddaughter who raised herself dies in leopard attack, grandmother goes crazy

बर्दिया — नातिनी ६ महिनाकी हुँदा बुहारीको मृत्यु भयो । नातिनी स्याहार्ने जिम्मेवारी गुलरिया नगरपालिका–८ की ८१ वर्षीया काली खड्काकै आँधमा आयो । दु:खजिलो गरी हुर्काएकी ९ वर्षीया मेलिना खड्काको सोमबार बिहान गुलरिया नगरपालिका–८ डम्पिङ साइड सर्जु सामुदायिक वनमा चितुवाको आक्रमणबाट मृत्यु भयो ।

‘हुर्किसकेकी नातिनीलाई नरभक्षी चितुवाले छोडेन,’ अस्पतालको पोष्टमार्टम कक्ष अगाडि भक्कानिँदै बसेकी उनले भनिन्,‘वनमा नजाऊँ भनेकी थिएँ, तर मानेनौं, अब मेरो नातिनीलाई कहाँ पाउँछु ।’ 

नातिनीलाई हुर्काउन गरेको दुःख स्मरण गर्दै भक्कानिरहेकी उनी रुँदारुँदै बेहोस् हुन्छिन् । उनलाई छिमेकीले पानी छर्केर बेलाबेला होसमा ल्याएर सम्हाल्ने कोसिस गर्छन् । 

घरनजिकैको वनमा घाँसदाउरा लिन गएका बेला सोमबार बिहान करिब ८ बजेतिर चितुवाले आक्रमण गरेको सँगै गएकी गुलरिया नगरपालिका–८ गंगानगर टोलकी आकृति खड्काले बताइन् । ‘नानीसहित वनमा पाँच जना गएका थियौं,’ उनले भनिन्,‘धेरै टाढा पनि थिएनौं । मैले त चितुवालाई देखिनँ । सँगै गएकी अर्की नानीले चितुवालाई पनि देखिछन् ।’  

चितुवालाई देख्ने बित्तिकै 'बाघ आयो भाग भाग' भनेर चिच्याए पनि घाँटीमा समातेर झाडीतिर लगेको सँगै वन गएकी १२ वर्षीया श्रद्धा खत्रीले बताइन् । ‘उफ्रिँदै आएको चितुवाले च्याप्प घाँटीमा समातेर झाडीतिर भग्यो,’ उनले भनिन्,‘त्यो दृश्य देखेर डरले अझै पनि मेरो दिमागले काम गरिरहेको छैन ।’

गेरुवा गाउँपालिका–६ गुप्तीपुर घर भएकी मेलिना तीन दिनअघि बुबा टोपबहादुर खड्कासँग गुलरियास्थित काकाकाकी र हजुरआमा कहाँ आएकी थिइन् । ‘आइतबार आमाको मुख हेरेर फर्कने गरी आएको थिएँ,’ टोपबहादुरले भने,‘आउँदा छोरीलाई लिएर आएको थिएँ, अब एक्लै घर कसरी फर्किनु ?’

केही दिनदेखि बर्दियाको सदरमुकाम गुलरिया आसपास चितुवाले दिनदहाडै आतंक मच्चाउँदा स्थानी त्रसित बनेका छन् । गत चैत २० गते गुलरिया नगरपालिका–५ बालापुरका ७ वर्षीय सिर्जन चौधरी हजुरआमासँग गुलरिया–४ इन्द्रेणी टोलस्थित खेतमा गएका बेला दिउँसै चितुवाले आक्रमण गरी घाइते बनाएको थियो । त्यसैगरी चैत २७ मा इन्द्रेणी टोलस्थित खेतमा गहुँ काटिरहेको अवस्थामा चितुवाले पछाडिबाट आक्रमण गर्दा ६५ वर्षीय बिकुलाल थारु घाइते भएका थिए । 

सोमबार बिहान घटनाको जानकारी पाउनासाथ दुई टिम घटनास्थलमा पुगेको डिभिजन वन कार्यालयका सूचना अधिकारी रामकुमार चौधरीले बताए । ‘चितुवा फेला परेको छैन, कतै लुकेर बसेको हुन सक्छ,’ उनले भने,‘गुलरिया नगरपालिका–४ स्थित आतंक मच्चाएको चितुवालाई सामात्न निरन्तर केज राखिँदासमेत चितुवा परेन ।’ उनका अनुसार चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट दुई बालबालिका र एक महिलाको ज्यान गइसकेको छ । 

रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।

Link copied successfully