गणतन्त्र नेपालीको युगान्तकारी परिवर्तन : चन्द

'प्रधानमन्त्री ओलीले बोल्ने गरेको समृद्ध नेपाल, सुखी नेपालीको नारा परिवर्तन गरेर आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर नागरिक राखौं'

जेष्ठ १५, २०८२

सन्जु पौडेल

The revolutionary change of the Republic of Nepal: Chand

तिलोत्तमा — नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले गणतन्त्र नेपाली जनताका लागि युगान्तकारी परिवर्तन भएको बताएका छन् । उनले हजारौं  जनताले ठूलो संघर्ष गरेर जनआन्दोलनपश्चात् आएको गणतन्त्र राजनीतिक क्षेत्रमा नयाँ उपलब्धि भएको बताए ।

बिहीबार बुटवलमा आयोजित गणतन्त्र, जनपक्षीय पत्रकारिता र कृष्ण सेन इच्छुकको भूमिका विषयक अन्तरक्रियामा बोल्दै उनले सामन्तवादी युगको अन्त्य गर्न नेपाली जनता आआफ्नो स्थानबाट लागेपछि यो दिन आएकाले सबै नेपाली यो उपलब्धिका लागि धन्यवादको पात्र भएको बताए । उनले गणतन्त्र स्थापनाका लागि कृष्ण सेन इच्छुकको देन अविस्मरणीय रहेको भनाइ राखे ।

गणतन्त्र सम्म आइपुग्दा नेपाली जनताले समावेशी, समानुपातिक संघीयताको अनुभूति गर्दै सार्वभौमिक हुने स्तरसम्म पुग्न पाउनु नै पर्याप्त अवस्था भएको उनको भनाइ थियो । 'तर सामन्तवादको समूल अन्त्य गर्न नसक्नु गणतन्त्रको ठूलो कमजोरी हो,' उनले भने, 'सामन्तवादकै कारण निम्तिएको संक्रमणकालको भोगाइमा जनता छन् ।'

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्ने गरेको 'समृद्ध नेपाल, सुखी नेपाली' को नारा परिवर्तन गरेर आत्मनिर्भर अर्थतन्त्र, आत्मनिर्भर नागरिक राख्नु पर्ने बताए ।

नेपालको आर्थिक स्थिति संकट उन्मुख रहेकाले हरेक जनताले उत्पादन गरेका वस्तु बजारीकरण र सरकारले देशमा ती उत्पादन नै प्रयोग गर्नुपर्ने नीति नबनाइदिँदा र आयातित वस्तु नै प्रयोग भइरहेकाले आर्थिक संकट निम्तिरहेको उनको भनाइ थियो ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully