लुम्बिनीमा शुक्रबार र शनिबार बौद्ध आर्थिक शिखर सम्मेलन

जेष्ठ १५, २०८२

सन्जु पौडेल

Buddhist Economic Summit in Lumbini on Friday and Saturday

तिलोत्तमा — लुम्बिनीमा बौद्ध आर्थिक शिखर सम्मेलन आयोजना हुने भएको छ। लुम्बिनी बौद्ध विश्वविद्यालयको आयोजनामा हुन लागेको उक्त सम्मेलनको उद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार गर्ने कार्यक्रम रहेको छ।

विश्व सम्पदा क्षेत्र तथा गौतम बुद्धको जन्मभूमि भएकाले लुम्बिनी यस्ता सम्मेलनका लागि आदर्शस्थल भएको विश्वविद्यालयले जनाएको छ। सम्मेलनले बुद्धले प्रदान गरेका शिक्षाको प्रचारमा मात्र नभई लुम्बिनी प्रदेशको पर्यटन, संस्कृति तथा आर्थिक विकासमा समेत योगदान पुर्‍याउने लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिस्ट्रार डा. तिलकराम आचार्यले जानकारी दिए।

उनका अनुसार दुई दिनसम्म चल्ने सम्मेलनको उद्देश्य बौद्ध शिक्षालाई आर्थिक विकास र सामाजिक समृद्धिसँग जोड्नु रहेको छ। सम्मेलनमा बौद्ध धर्मका सिद्धान्तलाई आधार बनाई स्थायी विकास, पर्यटन प्रवर्द्धन र आर्थिक सहकार्यका अवसरबारे छलफल गरिनेछ।

लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयको आर्थिक सहयोगमा हुन लागेको सम्मेलनमा अनुसन्धानकर्ता, शिक्षाविद्, आर्थिक विज्ञ, पर्यटन व्यवसायी, प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा आर्थिक क्षेत्रसँग सम्बन्धित संघ–संस्थाका प्रतिनिधिको सहभागिता रहनेछ।

बौद्ध अध्ययन संकायका डीन डा. माणिकरत्न शाक्यका अनुसार सम्मेलनको मुख्य उद्देश्य आर्थिक व्यवस्थामा बुद्धका उपदेशको महत्वबारे गहन छलफल गर्नु तथा समकालीन आर्थिक चुनौतीको समाधानका लागि बुद्धको शिक्षाको प्रयोगबारे बहस गर्नु रहेको छ।

लुम्बिनी बौद्ध विश्वविद्यालयले बौद्ध आर्थिक अवधारणालाई अनुसन्धान, शिक्षा र विकाससँग समाहित गर्दै लुम्बिनीलाई एक आध्यात्मिक तथा समृद्ध आर्थिक गन्तव्यका रूपमा विकास गर्न सम्मेलनले नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ।

सन्जु पौडेल पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully