दाङ — लुम्बिनी प्रदेश सरकारले बिहीबार १८औँ गणतन्त्र दिवस विविध कार्यक्रमसहित मनाएको छ । प्रभातफेरी, सांस्कृतिक झाँकी र मुख्य समारोह आयोजना गर्दै प्रदेशले दिवसलाई गौरवपूर्ण रूपमा मनाएको हो ।
मूल समारोहलाई सम्बोधन गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गणतन्त्र नेपालको गौरवपूर्ण उपलब्धि भएको बताए । ‘यो उपलब्धि नेपाली जनताको त्याग, बलिदान र संघर्षबाट सम्भव भएको हो,’ उनले भने, 'समावेशी, समानुपातिक, न्यायसंगत र उत्तरदायी शासनको अभ्यास सुदृढ गर्न गणतन्त्र दिवसले प्रेरणा दिने छ ।’
उनले गणतन्त्रले अधिकारसँगै कर्तव्यबोध गराएको उल्लेख गर्दै सेवा प्रवाह, सुशासन र समृद्धि निर्माणमा सरकार पूर्ण प्रतिबद्ध रहेको बताए । उनले लुम्बिनी प्रदेश सरकार कृषि, पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, युवा उद्यमशीलता तथा स्वरोजगारलाई प्राथमिकतामा राख्दै योजनाबद्ध रूपमा अघि बढिरहेको जानकारी दिए ।
संघीयताको अभ्यासलाई प्रभावकारी बनाउन संघ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गर्दै उनले प्रदेश सरकारले त्यस दिशामा प्रतिबद्धतापूर्वक काम गरिरहेको बताए ।
मुख्यमन्त्री आचार्यले अघिल्ला पुस्ताको योगदानको कदर गर्दै भावी पुस्तालाई समावेशी, समतामूलक र आत्मगौरवयुक्त समाज हस्तान्तरण गर्ने संकल्प गर्नुपर्ने धारणा व्यक्त गरे ।
प्रदेश सभाका सभामुख तुलाराम घर्तीमगरले गणतन्त्र जनताको शासन प्रणाली भएको उल्लेख गर्दै यसको संस्थागत सुदृढीकरण तथा विकासमा जोड दिए । उनले राजनीतिक संघीयता प्राप्त भए पनि प्रशासनिक तथा वित्तीय संघीयताको व्यवहारिक कार्यान्वयन अपरिहार्य रहेको बताए ।
पूर्वमुख्यमन्त्री तथा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले गणतन्त्रको मूल उपलब्धि संघीयता भएको उल्लेख गर्दै यसको लक्ष्य विकास भएको बताए ।
विपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले गणतन्त्रलाई सुदृढ गर्दै जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुपर्ने बताए ।
तीन दिनसम्म विविध कार्यक्रम आयोजना गरेर दिवस मनाउने गरी मूल समारोह गठन गरिएको हो । दिवसको अवसरमा विभिन्न कला, संस्कृतिसहितको झाँकी सम्मिलित प्रभातफेरीको आयोजना गरिएको थियो । राप्ती गाउँपालिकाको परिसरबाट सुरु भएको प्रभातफेरी प्रदेशसभामा पुगेर सभामा परिणत भएको थियो । स्थानीय कला, संस्कृति, समुदायको भेषभूषा र पञ्चेबाजा सहितको प्रभातफेरी गरिएको थियो ।
