कपिलवस्तु — नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको उपलक्ष्यमा बुधबार तौलिहवास्थित बुद्ध पद्म माध्यमिक बिद्यालयका विद्यार्थीको साईकलमा रिफ्लेक्टिभ स्टिकर टासिएको छ ।
सडक दुर्घटना न्यूनीकरण गर्दै ट्राफिक सचेतना अभिवृद्धि गर्ने उद्देश्यले विद्यार्थीका साइकलको पछाडीको भागमा रिफ्लेक्टिभ स्टिकर टाँसिएको हो ।
ट्राफिक प्रहरी कार्यालय तौलिहवाको प्राविधिक सहयोग र बुद्ध पद्म माध्यमिक विद्यालयको समन्वयमा नेपाल प्रेस युनियन शाखाको आयोजित कार्यक्रममा ७ सय ५५ विद्यार्थीहरुको साइकलमा स्टिकर राखिएको हो ।
रेडियमको स्टिकर अँध्यारोमा टल्कने हुँदा साइकल यात्री विद्यार्थीलाई दुर्घटनाबाट जोगाउन मद्दत गर्ने हुँदा साइकलमा टाँसिएको युनियनका शाखा सभापति खगप्रसाद चापागाईंले बताए ।
उक्त अवसरमा विद्यालयको बिहानी प्रार्थनासभामा ट्राफिक प्रहरी कार्यालय तौलिहवाका प्रमुख प्रहरी नायब निरीक्षक दिपकराज गिरीले सडक सुरक्षाबारे विद्यार्थीलाई सचेतना गरेका थिए ।
सडक लेन अनुसार साइकल चलाउन, विद्यार्थीलाई साइकलमा सामूहिक रुपमा कुराकानी गर्दै नहिँड्न, सवारी चालक अनुमतिपत्र लिएर हेल्मेटको अनिवार्य प्रयोग गरेर सवारी साधन चलाउन, क्षमता भन्दाबढी व्यक्ति सवारी साधनमा नचढाउन र ट्राफिक नियमको पालना गर्दै सडकमा यात्रा गर्न सचेतना गरेका थिए ।
