होमस्टे निर्माणका लागि लुम्बिनी प्रदेश सरकार र रामग्राम नगरपालिकाबीच सम्झौता

जेष्ठ १४, २०८२

नवीन पौडेल

Agreement between Lumbini State Government and Ramgram Municipality for construction of Homestay

परासी — घरबास (होम स्टे) निमार्णका लागि लुम्बिनी प्रदेश सरकार र पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाबीच सम्झौता भएको छ । 

नगरको पर्यटन विकासमा टेवा पुर्‍याउने र मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले होमस्टे सञ्चालनका लागि प्रदेश र पालिकाबीच सम्झौता भएको हो । रामग्राम नगरपालिका-१४ मा रहेको हडहिया पोखरीमा होमस्टे निर्माणका लागि मुख्यमन्त्री चेतनारायण आचार्य र नगर प्रमुख धनपत यादवले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार ९२ लाख रुपैयाँ स्थानीय तहको र १ करोड ८ लाख रुपैयाँ प्रदेश सरकारले उपलब्ध गराउने रामग्राम नगरपालिकाका प्रमुख धनपत यादवले बताए । 

‘पर्यटनको सम्भावना हुँदाहुँदै पनि समुदायले अपनत्व लिने गरेर पर्यटन विकास हुन सकेको थिएन,’ उनले भने,‘समुदायले आफ्नो मौलिक परिकार र संस्कृतिमार्फत होम स्टे सञ्चालन गरेर आयआर्जनमा टेवा पुर्‍याउने योजना ल्याएका छौं । यसले रामग्राम नगरको पर्यटन विकासमा टेवा पुर्‍याउने छ ।’ 

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको नवप्रवर्तन साझेदारी कोषको माध्यमबाट प्रदेश तथा स्थानीय तहको सहलगानीमा नवीनतम परियोजनाअन्तर्गत होम स्टे सञ्चालन गर्न लागिएको हो । वडा नम्बर १४ मा थारू समुदायको बाहुल्य रहेको र थारू समुदायको आयआर्जन र लोप हुन लागेको रीति संस्कृति जगेर्नामा पनि होम स्टे ले टेवा पुर्‍याउने अपेक्षा गरिएको छ ।

हडहिया पोखरीमा निर्माण हुने होमस्टेमा पोखरी सौन्दर्यकरण र पर्यापर्यटनका लागि आवश्यक संरचना तयार गरिने रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत यमबहादुर कुँवरले बताए ।

नवीन पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully