जनमतकी प्रदेश सभा सदस्य गुरुङलाई कारबाही, प्रदेश सभा सदस्य पद रिक्त

लुम्बिनी प्रदेश सभामा अब ८६ सदस्य मात्र

जेष्ठ १४, २०८२

घनश्याम गौतम

Action taken against Gurung, a member of the Provincial Assembly of Public Opinion, the post of a member of the Provincial Assembly is vacant

देउखुरी — लुम्बिनी प्रदेश सभामा एक पद रिक्त भएको छ । लगातार १० बैठकमा अनुपस्थित भएपछि प्रदेश सभाले जनमत पार्टीबाट निर्वाचित गीता गुरुङलाई कारबाही गर्दै पदमुक्त गरेको हो । यसअघि उनले आफू बेलायतमा बसेर श्रीमान् कैलाश गुरुङमार्फत राजीनामा दिएको सार्वजनिक गरेकी थिइन् ।

गुरुङ पछिल्लो समय साढे २ महिनादेखि प्रदेश सभालाई जानकारी नदिइ छोराछोरीसँगै बेलायतमा बस्दै आएकी छन् । उनले वैशाख ३० गते हस्तलिखित राजीनामा पत्र सञ्चारमाध्यमहरूमार्फत सार्वजनिक गरेकी थिइन् । प्रदेश सभाको छैंटौं अधिवेशनका ११ बैठकमै अनुपस्थित भएपछि प्रदेश सभाले आवश्यक प्रक्रिया पूरा गरी पद रिक्त भएको जानकारी गराउन लागेको हो । गुरुङ निर्वाचित भएको जनमत पार्टीको संसदीय दलका नेता चन्द्रकेश गुप्ताले मंगलबार सभामुख तुलाराम घर्तीलाई पत्र पठाएर लगातार १० बैठकमा अनुपस्थित भएकाले आवश्यक कानुनी प्रक्रिया पूरा गरी पद रिक्त गर्न आग्रह गरेका थिए ।

प्रदेश सभाका सचिव दुर्लभकुमार पुनका अनुसार नेपालको संविधानको धारा १८० को खण्ड (घ) अनुसार प्रदेश सभाका एक पद रिक्त भएको जानकारी गराउन लागिएको हो । प्रदेश सभाको बुधबार बस्ने ११ औं बैठकमा उक्त जानकारी दिने गरी सम्भावित कार्यसूची तय भएको बताए । संविधानको धारा १८० को खण्ड (घ)मा ‘प्रदेश सभालाई सूचना नदिई लगातार दश वटा बैठकमा अनुपस्थित रहेमा’ प्रदेश सभा सदस्यको स्थान रिक्त हुने उल्लेख छ ।

त्यसकै आधारमा प्रदेश सभा नियमावली २०७९ को नियम १९० को उपनियम १ अनुसार ‘सभाको कुनै सदस्यको स्थान रिक्त भएमा सभामुखले सो कुराको जानकारी सभालाई दिने’ उल्लेख छ । प्रदेश सभा नियमावली अनुसार बुधवारको प्रदेश सभा बैठकमा गुरुङको स्थान रिक्त भएको जानकारी दिन लागिएको हो । लुम्बिनी प्रदेश सभामा ८७ सदस्य छन् । 

लुम्बिनी प्रदेश सभामा गुरुङ सबैभन्दा कम उपस्थित हुने प्रदेश सभा सदस्य हुन् । पाँचौं अधिवेशनसम्मका ८३ वटा बैठक मध्ये गुरुङ ३४ वटा बैठकमा मात्र उपस्थित भएकी थिइन् । छैंटौं अधिवेशनका मंगलबारका १० बैठकमा उनी निरन्तर अनुपस्थित रहेको प्रदेश सभाका सचिव पुनले बताए ।

घनश्याम गौतम कान्तिपुरका बुटवल संवाददाता हुन् ।

Link copied successfully