सिद्धार्थनगर नगरपालिका पूर्ण संस्थागत प्रसूतियुक्त घोषणा

जेष्ठ १३, २०८२

सन्जु पौडेल

Siddharthnagar Municipality Full Institutional Obstetrics Declaration

तिलोत्तमा — रूपन्देहीको सिद्धार्थनगर नगरपालिका पूर्ण संस्थागत प्रसूति सेवायुक्त साथै पूर्ण खोप सुनिश्चितता दिगोपना नगरपालिका घोषणा भएको छ ।

मंगलबार आयोजित एक कार्यक्रममा नगरप्रमुख इस्तियाक अहमद खाँले नगरपालिकालार्ई पूर्ण संस्थागत प्रसूति र खोप सुनिश्चितता दिगोपना घोषणा गरेका हुन् । 

नियमित रूपमा खटेर सहज रूपमा स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयंसेविकाले यस काममा सफलता दिलाएकामा प्रमुख खाँले धन्यवाद दिए । उनले पालिकाले घोषणाका लागि मात्र घोषणा नगरेकाले यसको दिगो कार्यान्वयनमा आफूहरूले ध्यान दिएको बताए ।

पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणाका लागि १६ देखि ५९ महिनासम्मका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पाउनुपर्ने सबै खोप दिलाई पूर्ण खोप पाएको सुनिश्चित गरिएको उनले बताए ।

कार्यक्रममा बोल्दै जिल्ला समन्वय समिति रूपन्देहीका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका अध्यक्ष उमाकान्त चपाईले रूपन्देहीका सबैजसो पालिकाले यस अभियानलाई गम्भीर रूपमा लिएर कार्यान्वयन गरेको प्रति खुसी व्यक्त गरे ।

'स्वास्थ्यसँग सम्बन्धित विषयमा भएका सकारात्मक कार्यले पालिकालाई थप उत्कृष्टता प्रदान गर्ने र नागरिकले सरकारको अनुभूति गर्न पाउने भएकाले सराहनीय काममा नगरवासी र जनप्रतिनिधि मिलेर अघि बढ्न जरूरी छ,' उनले भने ।

सन्जु पाैडेल कान्तिपुरकी रूपन्देहीस्थित तत्कालीन संवाददाता हुन् ।

Link copied successfully