काठमाडौँ — कोहलपुर नगरपालिकाले कृषि पेसामा आबद्ध भएका किसानलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा अनुदान दिन सुरु गरेको छ । आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजित बजेटबाट १९ वटा मिनिटिलर वितरण गरिएको कोहलपुर नगरपालिका कृषि शाखाका कृषि प्राविधिक यज्ञबहादुर रोकायले जानकारी दिए।
चालू आर्थिक वर्षका लागि कृषि विकास शाखाको कुल बजेट एक करोड ४१ लख ५० हजार रहेको छ। त्यसमध्ये निशर्ततर्फ ३० लाख ५० हजार र शसर्ततर्फ एक करोड ११ लाख रुपैयाँ बजेट विनियोजन भइ कार्यान्वयन भइरहेको छ ।
नगरपालिकाको वडा नं १ देखि वडा नं १५ सम्मका कृषक, कृषि फार्म, कृषक समूह, केही कृषि सहकारीलाई नगर प्रमुख पूर्णप्रसाद आचार्य र नगर उपप्रमुख संगिता सुवेदीले १९ वटा मिनिटिलर वितरण गरिन्। कोहलपुर नगरपालिकाका नगर उपप्रमुख संगिता सुवेदी पनि किसानको आवश्यकता र मागमा आधारित रहेर कृषि यान्त्रिकीकरणमा नगरपालिकाले सहयोग गरेको बताइन्।
उनले कृषि पेसालाई व्यावसायिक बनाउँदै लैजानका निमित्त मागमा आधारित योजनाहरू कार्यान्वयनमा ल्याइएको उल्लेख गरिन्। किसानले अनुदानमा प्राप्त कृषि उपकरणले उनीहरूको काममा सहजता थप्ने उनले विश्वास गरिन् । ५० प्रतिशत नगरपालिकाको अनुदान र ५० प्रतिशत किसान लागतमा मिनिटिलर वितरण गरिएको छ। साना सिँचाइ प्रवर्धन कार्यक्रम अन्तर्गत ८० वटा पम्प सेट वितरण गरिएको पनि कृषि प्राविधिक रोकायले जानकारी दिए।
एउटा मिनिटिलरको करिब १९ हजार रुपैयाँ मूल्य पर्छ भने पम्प सेट एउटाको मूल्य ९ हजारको हाराहारीमा पर्दछ । त्यसमा कोहलपुर नगरपालिकाले ५० प्रतिशत अनुदान दिएको हो । मिनिटिलर र पम्प सेट वितरण कार्यक्रममा बोल्दै नगर प्रमुख आचार्यले कृषि पेसालाई आधुनिकीकरण गर्नका निमित्त किसानलाई यान्त्रिकीकरणमा सहयोग गरिएको बताए ।
‘कोहलपुर नगरपालिकामा किसानको संख्या पनि ठुलो छ उनले भने, ‘ती किसानलाई लक्षित गरेर कृषि यान्त्रिकीकरणमा जोड दिँदै उनीहरूलाई कृषि यान्त्रिकीकरण, बिउ बिजनमा अनुदान तथा प्राविधिक सहयोग नगरपालिकाले गर्दै आएको छ ।’
उनले कोहलपुर नगरपालिकाले किसानलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम र बजेट विनियोजन गर्दै आएको पनि बताए । ‘खास गरी साना किसानहरूलाई प्रोत्साहन गर्ने गरी हाम्रा नीति तथा कार्यक्रम र बजेट निर्माण हुने गरेको छ उनले भने, ‘आगामी वर्ष पनि किसानका माग र आवश्यकताका आधारमा नीति तथा कार्यक्रम तर्जुमा गरिने छ ।’
कोहलपुर नगरपालिकाले च्याउको बिउ तथा खाद्यान्न बालीमा अनुदान दिने गरेको छ । यस्तै साना सिँचाइको संरचना निर्माण गर्ने काम पनि कोहलपुर नगरपालिकाले गर्दै आएको आर्थिक विकास समितिका संयोजक अनिता बुढाक्षेत्रीले जानकारी दिइन् ।
‘कुलो निर्माण, स्यालो ट्युबवेल जडान, तरकारी प्रवर्धन कार्यक्रम, बिउ विजन लगायत प्राविधिक सहयोग, मौरी पालन किसानहरूलाई आवश्यक सामग्रीको सहयोग पनि नगरपालिका बाट हुँदै आएको छ उनले भनिन्, ‘यसले किसानहरूलाई कृषि पेसाप्रति उत्प्रेरित गरेको महसुस हामीलाई भएको छ ।’
