माडी फाँटका डुबान पीडित किसानलाई धानको बीउ वितरण 

जेष्ठ १२, २०८२

माधव अर्याल

Distribution of rice seeds to flood affected farmers in Madi district

पाल्पा — कृषि ज्ञान केन्द्र पाल्पाले अन्न भण्डारका रूपमा चिनिने माडी फाँटका डुबान पीडितलाई राहत स्वरूप धानको बीउ वितरण गरेको छ । गत वर्ष वर्षायाममा अविरल वर्षाका कारण तिनाउ खोला धान खेतमा पसेर बगर बनाएका किसानलाई विपद् व्यवस्थापन समितिको निर्णय अनुसार धानको बीउ वितरण गरेको हो । 

ज्ञान केन्द्रका प्रमुख अरबिन्दमणि त्रिपाठीका अनुसार तानसेन नगरपालिका–९, दमकडा, मदनपोखरा क्षेत्रका ३७ जना किसानलाई राहत स्वरूप धानको बीउ वितरण गरिएको हो । १ सय ७१ रोपनी खेतका लागि ३ किलोका दरले ५ क्बिन्टल १३ किलो धानको बीउ वितरण गरिएको उनले बताए । उनीहरूलाई साँवा मन्सुली (सब वन) जातको धान । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको निर्णयअनुसार किसानलाई सोही अनुसारको बीउ वितरण गरेको कृषि ज्ञान केन्द्रकी सूचना अधिकारी मनिषा पौडेलले बताइन् । 

ज्ञान केन्द्रमा लुम्बिनी प्रदेश सरकारले कुल २ लाख बजेट पठाएको थियो । सोही अनुसार तरकारीबाली क्षति भएका तानसेन नगरपालिका–९, कै तीन जना किसानलाई पनि राहत प्रदान गरिएको छ । सूचना अधिकारी पौडेलका अनुसार बगनासकाली गाउँपालिका–४,  खानीछापका सुन्तला किसान नारायणप्रसाद अर्याललाई पनि राहत दिइएको छ । अर्यालको सुन्तला पहिरोले क्षति पुगेको थियो । दाना लागेका बोटहरु सबै ढलाएकाले राहत दिइएको हो । उनलाई स्प्रेयर सिकेचर, आरी, पाइप लगायत वितरण गरेको हो । तिनाउ गाउँपालिका–५, का किसानलाई धानको  खेती भएको जग्गा नै भासिएको थियो । उनीहरूलाई सिँचाइका लागि पाइप वितरण गरिएको छ ।

गत वर्ष वर्षायाममा बगनासली र माथागढी गाउँपालिकाको सीमा लालपाटी क्षेत्रमा तिनाउ खोला फुटेर  माडीफाँटका किसानलाई ठूलो क्षति पुगेको तानसेन नगरपालिका–९, का वडाध्यक्ष राजेशकुमार अर्यालले बताए । अर्यालका अनुसार तिनाउ खोला र तानसेन खोलाले बर्सेनि किसानको धान खेतमा पसेर ठूलो क्षति पुग्ने गरेको छ । माडी फाँटका बुढुवा, अम्लिहान, तानसेन खोला, तिनाउ खोला लगायतका क्षेत्रमा खोला नै पस्ने गर्छ । रोपेको धान खेतमा भल सहितको बाढी पसेपछि डुबान हुने र बगरमा परिणत हुने गरेको तानसेन–९, का वडाध्यक्ष अर्यालले बताए । 

माडीफाँट क्षेत्रमा हरेक वर्ष तानसेन नगरपालिका, बगनासकाली, माथागढी क्षेत्रका ४ हजार रोपनीभन्दा बढी धान खेत डुबानमा पर्ने गर्छ । ‘माथिल्लो भेगको पानी बगेर आउने र लामो वर्षा हुनासाथ डुबानमा पर्ने समस्या हरेक वर्ष हुन्छ,’ वडाध्यक्ष अर्यालले भने, ‘तिनाउ खोला क्षेत्रको निकासमा केही भाग उकास भएकाले समस्या  हुने गरेको छ ।’

यस वर्ष तिनाउ खोलाको लालपाटी क्षेत्रमा लुम्बिनी प्रदेश सरकारले २५ लाख बजेट विनियोजन गरेर काम अघि बढाएको छ । तर समयमा ठेक्का व्यवस्थापन नहुँदा भने यस वर्ष पनि बाढीको जोखिम कायमै रहेको किसानले बताएका छन् । उनीहरूका अनुसार अहिलेसम्म काममा ढिलासुस्ती छ । उकास क्षेत्रमा गिट्टी बालुवा निकाल्ने गरेपनि पुनः बगाएर लगेर डुबानमा पर्ने समस्या रहेको किसानको गुनासो छ । तिनाउ खोला क्षेत्रमा बगर जमेर बसेपछि खेत बर्सेनि डुबानमा पर्दै आएको स्थानीयले बताए । 

तिनाउ खोलाको लालपाटी क्षेत्रमा बाढी पसेर क्षति पुगेका किसानका लागि माथागढी गाउँपालिकाले प्रति रोपनी १ हजार ५ सयका दरले राहत वितरण गरेको वडाध्यक्ष तेजबहादुर घर्तीले बताए । कसेनीमा खेत भएका माथागढी गाउँपालिका–३, र तानसेन नगरपालिका–९ का ६४ जना किसानलाई वितरण गरिएको उनले बताए । ‘घर तानसेन भए पनि कसेनी क्षेत्रमा खेत हुनेहरूलाई राहत प्रदान गरिएको हो,’ उनले भने ।

बगनासकाली गाउँपालिकाले प्रति किसान ५ हजारदेखि १५ हजारसम्म वितरण गरेको कृषि शाखा प्रमुख खिमप्रसाद कोइरालाले बताए । उनका अनुसार बगनासकाली ८ जनालाई कार्यपालिकाको निर्णय अनुसार विपद् व्यवस्थापन कोषबाट राहत प्रदान गरेको हो । बगनासकालीको वडा नम्बर १ चिर्तुङ्धाराको गोर्सत, बेल्टारी क्षेत्रमा रोपिसकेको धानमा क्षति पुगेको थियो ।

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully