जलेर दाजु बहिनीको मृत्यु

जेष्ठ १२, २०८२

मनोज पौडेल

Brother and sister died by burning

कपिलवस्तु — शुद्धोधन गाउँपालिका-५, जयनगरमा खाना पकाउने क्रममा सिलिन्डरबाट ग्यास चुहिएर आगलागी हुँदा जलेर दाजु र बहिनीको मृत्यु भएको छ।

आइतबार बिहान ७ बजे ग्यास चुल्होमा खाना पकाउने क्रममा रेगुलेटरबाट अचानक ग्यास चुहिएर आगलागी हुँदा २५ वर्षीय शिवकुमार यादव र १८ वर्षीया सोनम यादवको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता तथा डीएसपी मोहनमणि अधिकारीले बताए।

शिवकुमारको शरीरको ८५ प्रतिशत र सोनमको शरीरको ७५ प्रतिशत भाग जलेको अवस्थामा भैरहवास्थित मेडिकल कलेजमा उपचारका लागि लगिएको थियो। त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि आइतबार दिउँसो १:३० बजे भारतको गोरखपुरस्थित मेडिकल कलेजमा लैजाँदै गर्दा साँझ ६ बजेतिर बाटोमै दुवैको मृत्यु भएको प्रहरीले जनाएको छ।

मृतक सोनम राष्ट्रिय उच्च माध्यामिक विद्यालय मुडफुटुवामा कक्षा १० मा अध्ययनरत थिइन्। उनको निधनमा विद्यालयले सोमबार शोक बिदा दिएको विद्यालयका प्रधानाध्यापक लाल चन्द पाण्डेले जानकारी दिएका छन्।

मनोज पौडेल लुम्बिनीस्थित कान्तिपुर संवाददाता हुन् ।

Link copied successfully