दाङ — घोराही उपमहानगरपालिकाले चालु आर्थिक वर्षमा वृद्धि गरेको मालपोत तथा व्यावसायिक कर वृद्धिको निर्णय फिर्ता लिन माग गर्दै कांग्रेसले हस्ताक्षर संकलन गरी नगरपालिकालाई बुझाएको छ ।
राजस्व वृद्धिप्रति स्थानीय पालिकाको ध्यानाकर्षण गराउन १९ वडाबाट ६ हजार ५ सय नागरिकको हस्ताक्षर संकलन गरी पालिकालाई बुझाएको कांग्रेस घोराहीका सभापति तिलक रावतले बताए । कांग्रेस घोराहीले यसअघि पनि नगरप्रमुख नरुलाल चौधरीलाई करवृद्धि फिर्ता लिन माग गर्दै ज्ञापनपत्र बुझाएको थियो ।
उपमहानगरपालिकाको आन्तरिक स्रोत कम हुँदै गएकाले आन्तरिक स्रोत बढाउन यस्तो निर्णय गरिएको नगर उपप्रमुख हुमा कुमारी डिसीले बताइन् । उपमहानगरले गत आर्थिक वर्षमा ३५ करोड राजस्व उठाउने लक्ष्य लिएको थियो भने चालु आर्थिक वर्षमा ५५ करोड राजस्व उठाउने लक्ष्य लिएको छ ।
