नवलपुरमा सवारी दुर्घटना : चार वर्षमा १ सय ४८ ले ज्यान गुमाए

जेष्ठ १२, २०८२

नवीन पौडेल

Traffic accidents in Nawalpur: 148 people lost their lives in four years

नवलपुर — पूर्वी नवलपरासीमा चार वर्षमा सवारी दुर्घटनामा परी १ सय ४८ जनाको मृत्यु भएको छ। ३ सय ४६ जना गम्भीर घाइते भएका छन् भने ३ सय ९६ जना सामान्य घाइते भएका छन्। पूर्व पश्चिम राजमार्गको ६५ किलोमिटर र भित्री सडकमा भएको दुर्घटनामा चालक, यात्रु र पैदल यात्रीले ज्यान गुमाउनु परेको छ।

यो तथ्याङ्क हेर्दा कुनै महामारी जन्य रोगले भन्दा सवारी दुर्घटना बाट मानिसको बढी ज्यान जाने गरेको छ। सवारी दुर्घटना न्यूनीकरणका लागि सचेतना तथा विभिन्न कार्यक्रम सञ्चालन भएको भएपनि सवारी दुर्घटनाको घटना भने डरलाग्दो देखिन्छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८०७९ मा ९५ वटा सवारी दुर्घटनामा ४० जनाको मृत्यु भएको थियो।

१ सय ४ जना गम्भीर प्रकृतिको घाइते भएका थिए भने १ सय ४६ जना सामान्य घाइते भएका थिए। आर्थिक वर्ष २०७९०८० मा सवारी दुर्घटना घटेको देखिन्छ । ७६ वटा दुर्घटनामा २९ जनाको मृत्यु, १ सय ५ जना गम्भीर र ९९ जना सामान्य घाइते भएका थिए ।

यो चार वर्षमा सबैभन्दा बढी सवारी दुर्घटना २०८००८१ मा भएको छ । उक्त वर्ष १ सय ३५ वटा दुर्घटनामा ४६ जनाले ज्यान गुमाएका थिए। ७९ जना गम्भीर र ७८ जना सामान्य घाइते भएका थिए । चालु आर्थिक वर्षको १० महिना वैशाखसम्ममा जिल्लामा ९३ वटा सवारी दुर्घटनामा ३३ जनाको मृत्यु , ५८ गम्भीर घाइते र ७३ जना सामान्य घाइते भएका छन् ।

‘पूर्व-पश्चिम राजमार्गको करिब ६५ किलोमिटर क्षेत्र, सडक विस्तारको क्रममा रहेको र चालकको कमजोरीको कारण पनि यो जिल्लामा दुर्घटनाको दर बढी हुने गर्दछ ।’ जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जनक बन्जाराले भने, ‘आर्थिक वर्ष २०८००८१ को भन्दा चालु आर्थिक वर्षमा दुर्घटनाको दर घट्दो रहेको छ ।’

Traffic accidents in Nawalpur: 148 people lost their lives in four years

दुर्घटनामा मृत्यु हुने र गम्भीर घाइते भएकाहरूको परिवारमा मानसिक तनाव र आर्थिक अभावले पिरोल्ने कावासोती नगरपालिका १७ का मोहन भण्डारीले बताए । ‘दुर्घटनाबाट हुने मानवीय क्षतिको आकलन नै गर्न सकिँदैन । दुर्घटनामा परेका आफन्तले जति पीडा कसले भोगेको होला,’ उनले भने,‘ दुर्घटना न्यूनीकरणका लागि सरकारले ठोस् नीति र कार्यान्वयन गर्नेतर्फ पहल गरेको पाइँदैन । मानवीय त्रुटि मात्र होइन, यहाँ सडक राम्रो नहुँदा दुर्घटना भएर मानिसको मृत्यु भएको छ । यसको जिम्मेवारी कसले लिने ।’

अधिकांश दुर्घटनाको कारण सडकको दुरावस्था 

पूर्वी नवलपरासीमा अधिकांश दुर्घटना सडकको दुरावस्थाको कारण हुने गरेको छ । चालु आर्थिक वर्षको वैशाख महिना सम्म भएको सवारी दुर्घटना मध्य ३८ वटा दुर्घटना सडकको अवस्थाको कारण, सवारी साधनको कारण १९ वटा, जङ्गली जनावरको कारण ३, सवारी चालकको लापरबाहीको कारण २७ र पैदल यात्रीको गल्तीको कारण ६ वटा दुर्घटना भएको छ ।

बुटवल नारायणगढ सडक खण्ड विस्तारको क्रममा रहेकाले सडकको दुरावस्थाको कारण पनि मानिसले अकालमा ज्यान गुमाउनु परेको छ । सडक भत्काएर खाल्टाखुल्टी नपुर्ने, पानी पर्दा चिप्लो र घाम लाग्दा धुलोले अगाडिको सवारी नदेख्ने अवस्था आउँदा पनि दुर्घटना भएको छ । सवारी दुर्घटना हुनेमा सबै भन्दा बढी मोटरसाइकल रहेको छ ।

सडकको कारण धेरै दुर्घटना हुन थालेपछि विस्तारको क्रममा रहेको सडक छिटो भन्दा छिटो काम सम्पन्न गर्न स्थानीयले माग गर्दै आएका छन् । सवारी दुर्घटना सम्बन्धी प्रहरीले जनचेतना मूलक कार्यक्रम पनि गर्दै आएको छ ।

विद्यलय, कलेज तथा सवारीको चाप बढी हुने स्थानमा गएर दुर्घटना सम्बन्धी सचेतना र यसबाट हुने हानीका विषयमा सचेतना फैलाएको भएपनि यसको प्रभावकारिता निकै कम रहेको छ । स्थानीय युवा क्ल्व तथा संघसस्थाले पनि यसका साथ दिएका छन् ।

नवीन पौडेल पौडल कान्तिपुरका नवलपरासी संवाददाता हुन् ।

Link copied successfully