गुल्मी — गुल्मीका ७ पालिका ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’ घोषणा भएका छन् । जिल्लाको मालिका गाउँपालिका २०७८ मै देशको पहिलो स्थानीय तहका रुपमा पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका घोषणा भएको थियो ।
आइतबार इस्मा गाउँपालिकासँगै मालिकासहित गुल्मीका ७ पालिका पूर्ण संस्थागत प्रसुति पालिका भइसकेको स्वास्थ्य कार्यालय गुल्मीका परिवार नियोजन सुपरभाइजर निरीक्षक गोपाल कार्कीले जानकारी दिए । उनका अनुसार मालिकासहित, छत्रकोट, धुर्कोट, रुरुक्षेत्र, चन्द्रकोट, गुल्मीदरबार र इस्मा गाउँपालिका ‘पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिका’घोषणा भएका हुन् । जसमा चन्द्रकोट, गुल्मीदरबार र इस्मा यसवर्ष घोषणा भए भने अन्य पालिकाले दिगोपना सुनिश्चतता गरेका हुन् ।
सबै गर्भवती महिलाहरू स्वास्थ्य संस्थामा सुत्केरी भएको अवस्थामा पनि रेसुङ्गा र मुसिकोट नगरपालिकाले भने घोषणा गरेका छैनन् । पहिले तीन वर्षसम्म घरमा शून्य डेलिभेरी भएको हुनुपर्ने मापदण्डका कारण यी पालिकाले घोषणाको तयारी नगरेका हुन् ।
हाल एक आर्थिक वर्षमा घरमा सुत्केरी हुनेको संख्या शून्य हुनुपर्ने मुख्य र अनिवार्य मापदण्डका कारण कालीगण्डकी र सत्यवती गाउँपालिका ‘पूर्ण संस्थागत प्रसुति सेवायुक्त पालिका’ घोषणा हुन सकेका छैनन् । स्वास्थ्य कार्यालय गुल्मीको तथ्याङ्क अनुसार कालीगण्डकीको भुर्तुङ स्वास्थ्य चौकी र सत्यवतीको ठूलोलुम्पेक स्वास्थ्य चौकीअन्तर्गतका १/१ गर्भवती महिला घरमै सुत्केरी भएका छन् ।
मदाने गाउँपालिका लगत्तै ‘पूर्ण संस्थागत प्रसुति पालिका’ घोषणा गर्ने तयारीमा छ । स्वास्थ्य निर्देशनालयको यससम्बन्धी मापदण्ड पूरा गरेका कारण आफूहरूले पहिलोपटक ‘शून्य होम डेलिभेरी’ अथवा ‘पूर्ण संस्थागत प्रसूति पालिका’ घोषणा गरेको मालिका गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बसन्त भुसालले बताए ।
स्वास्थ्य संस्थामा ४ पटक गर्भ जाँच गर्ने ९० प्रतिशत, दक्ष प्रसूतिकर्मीबाट सुत्केरी भएका ९५ प्रतिशत, घरमा हुने सुत्केरी संख्या शून्य र ३ पटक सुत्केरी जाँच ९० प्रतिशत हुनुपर्ने मापदण्ड छ । जिल्लामा हाल ६६ वटा वर्थिङ सेन्टर रहेका छन् ।
पालिकामा स्वास्थ्य शाखाले यससम्बन्धी काम गर्छन् । स्वास्थ्य कार्यालय गुल्मीले अनुगमन गर्छ । त्यसपछि जिल्ला प्रजनन स्वास्थ्य समितिले पालिकालाई यससम्बन्धी प्रमाणपत्र हस्तान्तरण गर्दछ । जसको अध्यक्ष जिल्ला समन्वय समितिका प्रमुख हुने व्यवस्था छ ।
जिल्ला समन्वय समिति गुल्मीका प्रमुख द्रोण खत्रीले स्वास्थ्य क्षेत्र मानव विकासको महत्त्वपूर्ण सूचांक भएकाले यससम्बन्धी काम भइरहेको बताए । 'पालिकाले मिहिनेत गरेर यससम्बन्धी घोषणा र सुनिश्चितता गरिरहेका छन्,' उनले भने, 'बाँकी पालिकाले यसै कार्यकालमा गरिसक्ने गरी तयारीमा छौं ।' पूर्ण संस्थागत प्रसूति सेवायुक्त पालिकाले स्वास्थ्य सकारात्मक सूचक देखाइरहेको उनले बताए ।
