परासी — पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले मिर्गौला सम्बन्धी रोगीका लागि डायलाइसिस सेवा सञ्चालका लागि सहयोग अभियान सुरु गरेको छ ।
सहिद स्मृति सामुदायिक अस्पताल र नगरपालिकाले शुक्रबारदेखि सहयोग रकम उठाउन महाअभियान सुरु गरेका हुन् ।
बर्दघाट नगरपालिकालाई संघीय सरकारको स्वास्थ्य मन्त्रालयले ४ थान हेमो डायलाइसिस मेसिन उपलब्ध गराएको छ । उपकरण भए पनि सञ्चालनका लागि स्रोतको अभाव भएपछि सहयोग अभियान सञ्चालन गरिएको हो ।
अभियान शुभारम्भ गर्दै लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण प्रसाद कलवारले जनतालाई स्वास्थ सुविधा उपलब्ध गराउन प्रदेश सरकार तयार रहेको भन्दै सामुदायिक अस्पतालमा डायलाइसिस सेवा सञ्चालनको लागि आवश्यक बजेट व्यवस्थापन गर्ने नीतिगत समस्या रहेकाले सहयोग अभियान सुरु गर्नुपरेको बताए ।
अस्पतालमा डायलाइसिस मेसिन भए पनि सञ्चालनमा ल्याउन आर्थिक अभाव भएका कारण मिर्गौला पीडित बचाउ अभियानका लागि सहयोग रकम संकलन सुरु गरिएको हो ।
सरकारको स्वास्थ्य मापदण्ड अनुरुप सामुदायिक अस्पतालको प्रशासनिक सेवा बिस्तार र सेवा सञ्चालन तथा जनशक्ति व्यवस्थापनका लागि तीनै तहका सरकारले लगानी गर्न नमिल्ने बताउँदै नगर प्रमुख श्रेष्ठले डायलाइसिस सेवा सञ्चालनका लागि १० देखि १५ हजार नागरिकलाई यो अभियानमा जोड्ने लक्ष्य राखेर एक घर एक हजार संकलन अभियान सुरु गरेको बताए ।
