लाँकुरी मञ्च मासेर बनाएको कङ्क्रिट पार्क प्रयोगविहीन

जेष्ठ १०, २०८२

सन्तोष महतारा

The concrete park made by Lankuri Manch Maser is unused

गुल्मी — कुनै समय गुल्मीको केन्द्र मानिने लाँकुरी मञ्च राजनीतिक गतिविधि र शीतलताको केन्द्र थियो। जसमा थ्रीडी पार्क भनिने शङ्ख पार्कका नाममा कङ्क्रिट पार्क निर्माण गरिएको छ। तर अहिले यो अलपत्र छ । 

तम्घासमा २०७६ मा बडेमानको लाँकुरीको रुख ढालेर पार्क बनाइएको थियो। आर्थिक वर्ष २०७६/०७७ मा रेसुङ्गा नगरपालिकाले लुम्बिनी प्रदेशसँगको साझेदारीमा ५५ लाख रुपैयाँमा पार्क निर्माण गरेको नगरपालिकाका योजना शाखा प्रमुख विनोद मरासिनीले बताए ।

पछि थप निर्माणका लागि ८ लाख रुपैयाँ थप खर्च भएको उनको भनाइ छ। तर कङ्क्रिटको शङ्ख पार्क अहिले अलपत्र र बेवारिसे अवस्थामा छ । अहिले अलपत्र कङ्क्रिट पार्कले सरोकारवालहरूलाई गिज्याइरहेको छ । जिल्ला प्रशासन कार्यालय र जिल्ला समन्वय समितिको कार्यालय अगाडि प्रयोगविहीन पार्कले जिल्लाको समग्र स्थिति वर्णन गर्ने स्थानीय बताउँछन् ।

अगुवा स्थानीय  वीरबहादुर कार्कीले गौरवपूर्ण लाकुरीमञ्चको अस्तित्व नरहनेगरि मेटिएकोमा चिन्ता व्यक्त गरे । ‘उपयोगका नाममा दुरुपयोग भएको छ,’ उनले भने, ‘यस्ता प्रयोग नहुने पार्कको कुनै औचित्य छैन ।’ उनले संरक्षण नभएकोप्रति गुनासो गरे । 

अर्का अगुवा स्थानीय सन्तोष पन्थीले लाँकुरी मञ्चको महत्त्व नबुझ्नु दुर्भाग्य रहेको बताए । ‘पुराना ऐतिहासिक सम्पदा र संस्कृति जोगाउनुपर्ने थियो,’ उनले भने, ‘आधुनिकताका नाममा पहिचान मेटिनु दुःखद हो ।’ उनले पुनः पुराना ऐतिहासिक सम्पत्तिको संरक्षण गर्नुपर्ने बताए ।  हाल कङ्क्रिटको पार्कको ठाउँमा पुरानै लाँकुरी मञ्च स्थापना तथा लाँकुरी रोप्नुपर्ने आवाज उठ्न थालेको छ ।

तम्घासमा स्थानीय र पार्क छेउ हुँदै हिँड्नेहरूले लाँकुरी रोप्नुपर्ने पक्षमा बोल्न थालेका छन् । रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले उपयोगविहीन पार्क बनाएर अघिल्लो सरकारले राज्यको लगानी दुरुपयोग गरेको बताए ।

‘लगानी खेर गएको छ, पार्क उपयोग हुने अवस्थाको छैन,’ उनले भने, ‘यसका लागि सर्वदलीय र सर्वपक्षीय राय सुझाव लिएर निर्णय लिन्छौँ ।’ जसका लागि नगरपालिकाले १/२ दिनमै छलफल गर्ने उनले बताए । 

सन्तोष

Link copied successfully