नीति कार्यक्रम माथि दुई दिनमा ७ घण्टा २ मिनेट छलफल, ४० प्रदेशसभा सदस्यले दिए सुझाव
बुटवल — लुम्बिनी प्रदेशसभामा सरकारको तर्फबाट प्रस्तुत भएको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । जेठ ५ गते प्रस्तुत भएको नीति कार्यक्रम माथि शुक्रबारबाट छलफल सुरु भएको थियो । दुई दिनमा प्रदेश सभाका ८७ सदस्यमध्ये शुक्रबार १८ र शनिबार २२ गरी ४० जना सहभागी भएका थिए ।
छैठौं प्रदेशसभाको सातौं बैठक शुक्रबार ३ घण्टा १२ मिनेट चलेको थियो । शनिबार ३ घण्टा ५० मिनेट चलेर नीति कार्यक्रम बहुमतले पारित गरेको हो ।
प्रदेशसभा सदस्यको छलफल सकिएपछि मुख्यमन्त्री चेतनारायण आचार्यले जवाफ दिएका थिए । मुख्यमन्त्रीको जवाफपछि सभामुख तुलाराम घर्तीमगरले आगामी वर्षको नीति कार्यक्रम पारित गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावमा प्रतिपक्ष दलका प्रदेशसभा सदस्यहरुले हुन्न भन्नेमा ध्वनी मत दिएका थिए । तर, सत्ता पक्षका प्रदेशसभा सदस्यहरुको बहुमत रहेकाले हुन्छ भन्ने पक्षमा बहुमत पुगेपछि पारित भएको घोषणा गरेका हुन् ।
शनिबारको बैठकमा सरकारको आगामी वर्षको नीति तथा कार्यक्रममाथि छलफल गर्दै प्रमुख प्रतिपक्ष दलका नेता एवं पूर्वमुख्यमन्त्री जोखबहादुर महराले नीति कार्यक्रम पढ्दा राम्रो तर कार्यान्वयनमा जाँदा निराशा लाग्ने खालको भएको बताए । उनले सरकारले आगामी आवका लागि ७ अर्ब बजेट घट्दै छ भन्ने प्रचार गरेर प्रदेशसभा सदस्यलाई तर्साएको आरोप पनि लगाए ।
‘सरकारले बजेट छैन, ७ अर्ब घट्दै छ भनेर प्रदेशसभा सदस्यलाई तर्साउँदै छ,’ उनले भने, ‘त्यो भनेको सरकार असफल हुँदै छ भन्ने हो । हामी प्रदेश सरकार असफल होस् भन्ने चाहन्नौं । त्यसैले तर्साउने काम पनि नहोस् ।’
उनले नीति तथा कार्यक्रमको छलफलमा भाग लिंदै चुहावट, अनियमितता रोक्ने र करको दायरा बढाउन सरकारलाई सुझाव दिए । उनले प्रदेश सरकारले आगामी आवका लागि बजेटको आकार बढेर ५० अर्ब पुग्नु पर्नेमा घटाउने सन्देशले प्रदेशको हालत खराब हुँदैछ भन्ने सन्देश जान लागेको बताए ।
छलफलमा भोजप्रसाद श्रेष्ठ, राजु खनाल, कृष्णाकुस्मा थारु, चन्द्रकेश गुप्ता, इन्द्रकुमारी गहतराज, हेमाकुमारी बेल्बासे, देवीप्रसाद चौधरी, जानकी न्यौपाने, धर्मबहादुर चौधरी, डिल्लीराज भुसाल, तारा थापा, अम्बिका काफ्ले, राजुप्रसाद श्रेष्ठ, सुशिला बादी नेपाली, खड्ग बस्नेत, यमबहादुर नेपाली, भण्डारीलाल अहिर, अर्जुनकुमार केसी, लोकीकुमारी विक, दिलकुमारी बुढा, तुलसीप्रसाद चौधरीले भाग लिएका थिए । उनीहरुले नीति कार्यक्रम सकारात्मक रहेको भन्दै बजेटलाई वैज्ञानिक बनाउने, प्रविधिलाई अधिकतम् प्रयोग गर्ने गरी अघि बढ्न सरकारलाई सुझाव दिएका थिए ।
प्रदेशसभाका सदस्य र प्रतिपक्ष दलका नेताले उठाएका विषयवस्तुमा जवाफ दिँदै मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले ल्याएको आगामी वर्षको नीति कार्यक्रमको गहिराईमा पुगेर रचनात्मक सुझावहरु दिएको भन्दै त्यसलाई सरकारले सफलताको रुपमा ग्रहण गरेको बताए ।
उनले नीति कार्यक्रम सरकारको दिशानिर्देश गर्ने दस्तावेज भएकाले त्यहीअनुसार बजेट र कार्यक्रम ल्याउने बताए । ‘नीति कार्यक्रम सरकारको दिशानिर्देश गर्ने दस्तावेज हो । तर पनि त्यसमा सबै नअट्न सक्छन्,’ उनले भने, ‘सम्बन्धित मन्त्रालयका वार्षिक कार्यक्रममार्फत पनि प्राप्त सुझावलाई सम्बोधन गर्ने प्रयास गर्नेछौं ।’ उनले नीति कार्यक्रम पृथक्, विशिष्ट, वस्तुनिष्ठ र यथार्थमा आधारित भएर आएकाले आगामी वर्षको बजेट र कार्यक्रमलाई पनि त्यहीअनुसार ल्याउने गरी सरकारले तयारी गरिसकेको बताए ।
उनले तीन तहका सरकार बीचको समन्वय र साझेदारितालाई पनि मध्यनजर गर्दै संघीय सरकारले अनुदान कटौती गर्दा योजनाहरुमा पर्ने गरेको असर र आर्थिक भारलाई पनि अन्त्य गर्ने गरी बजेट तयार गर्ने प्रदेशसभामा जानकारी गराए ।
