पाल्पा — पाल्पाको रिब्दीकोट गाउँपालिकाले २ सय ८२ जना गोरुपालक किसानलाई अनुदान प्रदान गरेको छ । हल गोरु पाल्ने किसानले दाना खरिद बापत प्रतिकिसान २ हजार ५ सय रुपैयाँ प्राप्त गरेका छन् ।
गोरु खरिद गरेर पाल्ने किसानलाई ५ हजार रुपैयाँ प्रोत्साहन स्वरूप अनुदान दिइएको गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । गाउँपालिकाले रासायनिक मलको प्रयोग कम गर्दै गोठे र गोब्रे मललाई प्रोत्साहन गर्नका लागि पनि हल गोरु पाल्न किसानलाई प्रोत्साहन दिँदै आएको अध्यक्ष कार्कीले उल्लेख गरे ।
प्रत्येक वडामा पुगेर किसानको तथ्यांक संकलन गरिएकामा पालिरहेकालाई दानाका लागि तथा नयाँ खरिद गर्ने किसानलाई समेत अनुदान दिइएको प्रमुख प्रशासकीय अधिकृत मणिप्रसाद खनालले बताए । ‘नीति तथा कार्यक्रम र बजेटमै हामीले व्यवस्थापन गरेका थियौँ,’ सार्वजनिक सुनुवाइ कार्यक्रममा विवरण सार्वजनिक गर्दै उनले भने, ‘सोही अनुसार प्रोत्साहन गरिसकेका छौँ ।’
उनका अनुसार गोठे मलको प्रयोगमा समेत तीव्रता आएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा कार्यक्रम सुरु गरे पनि यसअघि नै रिब्दीकोट गाउँपालिका–१, ख्याहाले गोरु पालेका तथा नयाँ खरिद गरेका किसानलाई प्रोत्साहन रकम प्रदान गरिएको थियो । वडाध्यक्ष चिरञ्जीवी पोखरेलले वडाको कार्यक्रममार्फत २९ जना गोरुपालक किसानलाई २ हजार ५ सय र ५ हजार रुपैयाँका दरले नगद वितरण गरिएको जानकारी दिए ।
कृषि क्षेत्रबाट आयस्रोत बढाउन गोरु पालिरहेका र नयाँ हलगोरु खरिद गर्ने किसानका लागि अनुदानको व्यवस्थाले थप बल पुगेको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् । ‘पछिल्लो समय गोरु, भैँसी, गाईलगायत वस्तुभाउ पाल्ने प्रचलन घट्दो छ,’ उनले भनिन्, ‘यो प्रोत्साहन रकमले किसानहरू खुसी भएको पाइएको छ ।’
गाईवस्तु पाल्न छाडेपछि गोबर मलको कमी भएर रासायनिक मलको प्रयोग बढेको पाइएको छ । गाउँपालिकामा बसोबास गर्नेहरू कृषिबाट सबैभन्दा बढी आम्दानी लिने गरेको जनाइएको छ ।
