कपिलवस्तु — सीमावर्ती नेपाली बजार कृष्णनगरबाट स्रोत नखुलेको र नेपालमा प्रतिबन्धित ५ सय दरका भारतीय पाँच लाख रुपैयाँ बरामद भएको छ ।
शुक्रबार साँझ साढे ५ बजेतिर कृष्णनगर नगरपालिका-३, ट्रान्समिटरमा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका ओखलढुंगा चम्पादेवी गाउँपालिका-१० बस्ने ४३ वर्षका रामकुमार तोलाङी पक्राउ परेका हुन् । उनले झोलाभित्र प्लास्टिकमा लुकाएर राखेको पाँच लाख भारतीय रुपैयाँ बरामद गरिएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मोहनमणि अधिकारीले बताए ।
नोटसहित तोलाङीलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय बुटबल पठाइएको छ ।
