प्रभास ताल : उराठलाग्दो पोखरीमा फुले सेतै कमल

जेष्ठ ९, २०८२

माधव अर्याल

Prabhas Lake: A white lotus blossoms in a beautiful pond

पाल्पा — तीन वर्षअघि तानसेन नगरपालिका–१० प्रभास नजिकै घर भएको सुरेश बोहोरालाई उराठलाग्दो ताल देख्दा अब कमल फूल फुल्दैन कि भन्ने चिन्ता थियो। तर तानसेन नगरपालिका–७ का युवा तथा अहिलेका वडाध्यक्ष प्रदीप खनालको नेतृत्वमा वंश गोपाल युवाको सक्रियतामा जलकुम्भी निकालेपछि भने अहिले ताल पुरै हरियाली बनेको छ।

‘हामीलाई यस्तो हरियाली बन्ला भन्ने लागेकै थिएन,’ उनले भने, ‘सबैले देख्दा नै अब यो प्रभास क्षेत्रको कमल ताल के हुने हो भन्ने चिन्ता लागेको थियो ।’ युवाहरूको सक्रियता र वडा कार्यालय साथै डिभिजन वन कार्यालयकोसमेत सहयोगमा प्रभास ताललाई सौन्दर्यीकरण गरिएको छ।

वडा कार्यालयले जलकुम्भी हटाउने युवालाई सक्रिय बनाएको छ । फुटपाथका लागि डिभिजन वन कार्यालयले सहयोग गरेको छ। जलकुम्भी हटाएपछि यहाँ तीन/चार वर्षपछि कमल फुलेको देख्न पाएको छ । ‘हामीले सोचेका पनि थिएनौँ पुनः यसरी कमल फुल फुल्छ भनेर,’ प्रभास ताल नजिकै घर भएकी अस्मिता पंगेनीले भनिन्, ‘कमल फुल फुलेपछि मनै रमाइलो भएको छ ।’ उनका अनुसार कमल फुलेपछि यहाँ रमाउन आउनेहरूको संख्या पनि बढेको छ । 

सिमसार क्षेत्रको पहिचान बनाएको प्रभास क्षेत्रमा पुनः कमल फुलेपछि अनावश्यक वनस्पतिहरूलाई हटाई कमलको फूल संरक्षण गर्नुपर्ने उनको सुझाव छ । यहाँ जलीय जीवजन्तुहरू र वनस्पतिहरूसमेत पाइन्छ । 

Prabhas Lake: A white lotus blossoms in a beautiful pond

सिमसार क्षेत्रमा जंगली धान, कमलको फूल, माछा, सरिसर्प, चराचुरुङ्गीको बसोबास छ । यहाँ रहेका वनस्पतिहरू ‘जंगली धान’ र ‘कमलको फूल’ संरक्षण गर्नुपर्ने सुन्तलाजात फलफूल विकास केन्द्रका प्रमुख तथा वनस्पतिविज्ञ जोगेन्द्र कान्दु बताउँछन् । केही माछाका प्रजाति, सरिसृपहरुलाई वैज्ञानिक तवरले संरक्षण गर्नुपर्ने देखिन्छ । ‘कमलको फुल फुलेको छ,’ उनले भने, ‘अब यसलाई जस्तै जंगली धानहरूको पनि संरक्षण गर्ने हो भने अध्ययनको केन्द्र बन्छ ।’

यहाँ प्रजनन, अनुसन्धान र सूचना केन्द्र बनाई महत्त्वपूर्ण वनस्पति उत्पादन तथा प्रवर्धन गर्ने स्थलको रूपमा विकास गर्न सकिने डा. घिमिरेले बताए । सिमसार क्षेत्रका विषयमा आयोजित भर्चुअल छलफलमा सरोकारवालासँग उनले भने, ‘सिमसार क्षेत्रकै कारण पाल्पाको चिनारीका रूपमा स्थापित गर्न सकिन्छ भन्ने लाग्छ ।’

कमल ताल प्रभास क्षेत्रमा करिब ४५ प्रजातिका वनस्पतिहरूलाई बासस्थान प्रदान गर्ने विज्ञहरू बताउँछन् । यो क्षेत्रमा रैथाने वनस्पतिहरू पनि रहन्छ । यहाँ माछाका प्रजातिहरू, उभयचरहरू र यसमा आश्रित जलपंक्षी छन् । चखेवाचखेवी, जङ्गली हाँस, माटिकोरे, डुबुल्की मार्ने चराहरू प्रभास तालमा पाइन्छन् । माछा र शंखे कीराको प्रजातिहरू पनि यहाँ छ । अध्ययन अनुसन्धानमा यस क्षेत्रको पानीको मानाङ्कहरूमा पनि परिवर्तन भएको संकेत र निष्कर्षहरू निस्केको छ । 

Prabhas Lake: A white lotus blossoms in a beautiful pond

पानीमा भएका घुलित पदार्थहरू, अम्लीयपन, कडापन, नाइट्रोजन, अर्थोफस्फेट, पोटासियम जस्ता मानाङ्क देखिएको छ । मानवीय क्रियाकलापका असरहरू यस क्षेत्रमा भएको पुष्टि हुन्छ । यहाँ पाइने धान एसियामा खेती गरिने धानको पूर्वज हो । कमल फुल परम्परागत उपचार पद्धतिमा सुजन, क्यान्सर, मधुमेह, चर्म रोग, रगत बग्ने समस्या, मुटुको समस्या आदिको लागि प्रयोग गरिन्छ । प्रभास कलम ताल क्षेत्रको सुधार तथा प्रवर्धनका साथै स्थानीय बासिन्दाको सामाजिक तथा आर्थिक विकास हुन्छ भन्ने बुझाउनुपर्ने डिभिजन वन कार्यालय पाल्पाका प्रमुख नारायणदेव भट्टराईले बताए । 

कमल प्रशस्त फुलेपछि यो क्षेत्र पर्यटकीय क्षेत्रका रूपमा विकास हुने उनले बताए । यहाँ सार्वजनिक जग्गा ३२ रोपनी मात्रै छ । सिमसार क्षेत्रलाई सिमसारकै रूपमा रहन दिनपर्ने सुझाव पनि छ ।  प्रभासतालसंगै रहेको वंश गोपाल सामुदायिक वन र सिमसार क्षेत्र छ । चराचुरुङ्गी, चिप्ले किरा, पुतली, उभयचर, सानास्तनधारीका लागि सिमसारले सहयोग गरेको डिभिजन वन प्रमुख भट्टराईले बताए ।

Prabhas Lake: A white lotus blossoms in a beautiful pond

जंगली धान, सेतो कमल फुलको संरक्षणका साथै धार्मिक महत्वको सूर्य कुण्डले पर्यटक आकर्षण गर्न सकिने स्थानीय तथा जनप्रतिनिधि हिमलाल पंगेनीले बताए । ‘मैले सुनेको सेतो कमलको फूलको धेरै महत्त्व छ,’ उनले भने, ‘सिमसार क्षेत्रका साथै यसको धार्मिक, पर्यटकीय महत्वको विकास गर्न सकिने देखिन्छ ।’ 

माधव अर्याल अर्याल कान्तिपुरका पाल्पा संवाददाता हुन् ।

Link copied successfully