पाल्पा — तिनाउ खोलामा डुबेर बेपत्ता भएका भारतीय एक किशोर शुक्रबार मृत फेला परेका छन् । तिनाउ गाउँपालिका–३, ड्यामसाइडमा पौडी खेल्न गएका भारतीय किशोर बिहीबार बेपत्ता भएका थिए ।
नेपाली सेनाको दि फेमस महिन्द्र दल गणका सेनाको टिमले तिनाउ खोलामा खोजी कार्य गर्दा भारतको महाराजगन्ज नौतनहवा बस्ने १८ वर्षीय किशोर सोयब अन्सारीको शव फेला पारेको हो । स्थानीय बासिन्दाका अनुसार सोयब सिद्धार्थ राजमार्ग नजिकै तिनाउ खोलाको ड्यामसाइडमा पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।
आफ्ना दाजुभाइ तथा साथीहरूसहित पाँच जना बुटवल घुम्न आएका थिए । बेपत्ता भएका अन्सारीसहितको टोली तिनाउ खोलाको दोभानस्थित ड्यामसाईडमा पौडी खेल्न आएको स्थानीयले बताए । गर्मी छल्न पौडी खेल्न तिनाउ खोलामा गएका अन्सारी ड्यामको रहमा डुबेर बेपत्ता भएका थिए । साथीभाइले खबर गरेपछि आफन्त, नेपाली सेना, प्रहरी साथै स्थानीयले खोजी गरेका थिए ।
खोलामा पानी धमिलो भएकाले बेपत्ताको खोजतलासमा कठिनाइ भएको थियो । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।
