एकैदिन १८ प्रदेशसभा सदस्यले राखे सुझाव
बुटवल — लुम्बिनी प्रदेशसभामा सरकारको तर्फबाट प्रस्तुत भएको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । शुक्रबार बसेको छैठौं अधिवेशनको सातौं बैठकबाट आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको हो । छलफलको पहिलो दिन प्रदेशसभाका १८ जना सदस्यहरुले बोलेका छन् ।
शुक्रबारको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यले बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गरेका थिए । प्रस्तावलाई सभामुख तुलाराम घर्तीले निर्णयार्थ पेस गर्दा स्वीकृत भएपछि छलफल सुरु भएको हो ।
लुम्बिनी प्रदेश सरकारले कृषि, उद्योग, पर्यटन, पूर्वाधार लगायतका क्षेत्रलाई प्राथमिकता राख्दै २ सय ४ बुँदे वार्षिक नीति तथा कार्यक्रम ल्याएको थियो । छलफलमा बोल्दै प्रदेशसभा सदस्य विष्णुप्रसाद पन्थीले नीति तथा कार्यक्रम आशा जगाउने खालको भएको बताए । बजेट पनि त्यहीअनुसार व्यवस्थापन भएको अवस्थामा प्रतिफल पनि देखिने उनको आशा थियो ।
उनले प्रदेशलाई अर्गानिक प्रदेश बनाउने गरी सरकारले अघि सारेको नीतिलाई संकल्प प्रस्तावका रुपमा अघि बढाउन सरकारलाई सुझाव दिए । ‘पूर्ण प्राङ्गारिक प्रदेश बनाउने नीति अत्यन्तै राम्रो छ,’ उनले भने, ‘यसलाई सहकारीहरुसँग सहकार्य गरेर संकल्प प्रस्तावका रुपमा पारित गरेर अघि बढ्नु जरुरी पनि छ ।’ उनले लुम्बिनी प्रदेशको बुटवललाई आर्थिक, कपिलवस्तुलाई सांस्कृतिक र देउखुरीलाई प्रशासनिक सहर घोषणा गरेर कार्यान्वयन गर्न पनि आग्रह गरेका छन् ।
प्रदेशसभा सदस्य निमा गिरीले नीति कार्यक्रम पुरुषकेन्द्रित भएको भन्दै आलोचना गरिन् । उनले आवधिक र मध्यमकालीन बजेटमा तादम्यता मिलाउने नीति कार्यक्रमा उल्लेख भए पनि बजेट र योजनामा त्यस्तो हुने सम्भावना र आधार नदेखिएको पनि उनले बताइन् । द्वन्द्वको समयमा श्रीमान् बेपत्ता पारिएपछि एकल भएका महिलाहरु राज्यबाट पाउने एकल महिलाको सुविधाबाट बञ्चित भएको भन्दै उनीहरुले पनि सुविधा पाउनु पर्ने नीति सुनिश्चित गर्न पनि उनले आग्रह गरेकी छन् । ‘अन्य कारणले एकल भएका महिलाले राज्यको सुविधा पाउने तर, बेपत्ता परिवारका एकल महिलाले सुविधा नपाएको अवस्था छ,’ उनले भनिन्, ‘त्यसमा प्रदेश सरकार गम्भिर हुनु जरुरी छ ।’ उनले सुरक्षित मातृ मृत्युदर र बाल मृत्युदर नियन्त्रण गर्ने विषय नीति कार्यक्रममा उल्लेख भए पनि त्यसलाई गम्भीर रुपले कार्यान्वयन गर्ने संवेदनशील र ठोस योजना नभएको उनको गुनासो थियो ।
अर्का प्रदेशसभा सदस्य दीपेन्द्रकुमार पुनमगरले देशका राष्ट्रिय गौरवका धेरै आयोजना लुम्बिनी प्रदेशमा भए पनि प्रदेशले विकासको गति लिन नसकेको बताए । उनले हरेक वर्ष योजना बन्ने तर कार्यान्वयन हुन नसक्ने अवस्थाले प्रदेश झन् कमजोर बन्दै गएको बताए । ‘अन्तर्राष्ट्रिय विमानस्थलसहित उत्तर दक्षिण र पूर्वपश्चिम राजमार्ग लुम्बिनी प्रदेशमा छन्,’ उनले भने, ‘तर, प्रदेशको अवस्था झन् कमजोर बन्दै गएको छ । हरेक वर्ष योजना बन्छन् । कार्यान्वयन नहुने अवस्था छ । व्यवस्थित कार्यान्वयन गर्न छोडेर लोकप्रियतामा फसिरहेको छ त्यसमा सुधार हुनु जरुरी छ ।’ लुम्बिनीमा स्रोत न्यून भएको र वितरणमा होडबाजी हुने प्रवृत्तिले विकास न्यून भएको उनले बताए ।
प्रदेशसभा सदस्य रत्न खत्रीले कृषिमा सिंगो प्रदेश अर्ग्यानिक बनाउने नीति अति नै महत्वपूर्ण भएको बताए । ‘कृषिमा यान्त्रीकरण, व्यावसायीकरण र बजारीकरण गर्ने दिशामा नीति कार्यक्रम आएको छ,’ उनले भने, ‘त्यसलाई सतप्रतिशत कार्यान्वयन गर्न सकेमा प्रदेशको समृद्धि सम्भव छ ।’ सरकारले अघि सारेको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने विषय पनि महत्वपूर्ण रहेको उनले बताए ।
सदस्य सिके गुप्ताले लुम्बिनी आउने पर्यटकलाई सम्मान र खुसी दिने वातावरण तयार गर्नु जरुरी रहेको बताए । सुधाकर पाण्डेले किसानका लागि मलखाद, बिउबिजन र सिंचाइ जरुरी रहेको बताए । तारा थापाले नीति कार्यक्रम वैज्ञानिक नभएको भन्दै तर गत वर्षको भन्दा केही परिमार्जन भएको बताइन् । उनले लुम्बिनी प्रदेशको औद्योगिक नीति ने नीति कार्यक्रममा उल्लेख नभएको भन्दै लुम्बिनी प्रदेशमा रहेका कपास उद्योग, फलाम उद्योग, धागो कारखाना संचालन गर्न माग गरिन् ।
नवराज लामिछानेले दिगो वन व्यवस्थापनको नीति राम्रो भएको बताए । उनले वनबाट उत्पादन वृद्धि गर्नेतर्फ प्रभावकारी कार्यान्वयन गर्नु जरुरी रहेको सुझाव दिए । सडेगलेका काठदाउराको बिक्री गर्ने नीति अघि सारेर राजस्व वृद्धि गर्नेमा लाग्न उनको सुझाव थियो ।
सदस्य मिनाकुमारी श्रेष्ठले नीति कार्यक्रम कागजमा राम्रो देखिने तर भाषणमा सीमित हुने भएकाले त्यसलाई जनताको आवश्यकता र काममा कार्यान्वयन गर्न सझुाव दिइन् । उनले प्रदेशको खेल क्षेत्रलाई पर्यटनसँग जोड्न आग्रह गर्दै कोईलाबास नाकालाई व्यापार, पर्यटन र धार्मिक यात्राका लागि उपयोग गर्नु पर्ने सुझाव व्यक्त गरिन् ।
भगवती अधिकारीले लुम्बिनी प्रदेशमा महिला परिषद् गठन गर्ने नीति कार्यान्वयनको माग गरिन् ।
छलफलमा बसन्ती न्यौपाने, बसिउद्धिन खाँ, कन्हैयालाल बानियाँ, रामजीप्रसाद घिमिरे, यमुना रोका तामाङ, राजकुमार चौधरी, धनबहादुर केसी, सुरुल पुन लगायतले बोल्दै नीति कार्यक्रममा धेरै सुधारका प्रयास भएको भए पनि त्यसलाई बजेटसँग तादम्यता मिलाएर प्रभावकारी रुपमा कार्यान्वयनमा लैजान सरकारसँग आग्रह गरेका थिए । नीति कार्यक्रममाथिको छलफल शनिबार पनि हुनेछ ।
