गुलरिया-बारबर्दिया जोड्ने पुल नहुँदा सास्ती

जेष्ठ ७, २०८२

कमल पन्थी

Suffering because there is no bridge connecting Gularia-Barbardia

बर्दिया — गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने नयाँ पुल निर्माण नहुँदा स्थानीयवासीहरू सास्ती खेप्न बाध्य छन्। यी दुई नगरपालिका जोड्ने पुल बाढीले बगाएको करिब सात वर्ष भयो। पप्पु कन्स्ट्रशनले निर्माण गरेको पुल ०७४ साल साउन २८ गते भासिएको थियो। ०७९ असोज २० गते आएको बाढीले भासिएको पुल बगाएको थियो।

त्यसयता यहाँ पुल छैन। निर्माणाधीन पुलको काम पूरा भएको छैन। पुल निर्माणका लागि दबाव मुलक कार्यक्रम भएपनि सरकारको हेलचक्राईले गति लिन नसकेको स्थानीय गुनासो गर्छन्। हिउँदमा अस्थायी काठे पुलबाट आउजाउ गर्ने गरिएको छ। काठेपुलमा आउजाउ गरेको पैसा तिर्नुपर्छ।

दिनमा कयौँ पटक आउजाउ गर्दा किसानलाई आर्थिक भार छ। बारबर्दिया नगरपालिका–११ का किसान लौटी थारुले काठेपुलबाट तर्दा पनि पैसा तिर्नुपर्ने बाध्यता रहेको बताइन्। वर्षायाममा खोला बढेपछि काठेपुल हटाएर डुंगा चल्ने गर्छ । पुल बगाएपछि करिब ७ वर्ष देखि सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिकाबीच सडक सम्पर्कविच्छेद छ ।

पूर्व पश्चिम राजमार्गको रम्मापुरदेखि गुलरियाको रजनवासम्म २३ किमी पक्की सडक चार वर्षअघि निर्माण सम्पन्न भईसकेको छ । पुल नहुँदा दुई पालिकाका करिब डेढ लाख बासिन्दा प्रभावित भएका छन्। पुल निर्माणका लागि बजेट सुनिश्चिता भएपनि सार्वजनिक खरिद प्रक्रियाको काम ढिलासुस्तीले अघि बढ्न सकेको छैन । 

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Link copied successfully