तिलोत्तमा — रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले कृषकलाई ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरेको छ । पालिकाले २० दिने सूचना प्रकाशित गरी स्थानीय किसानलाई धानको बीउ अनुदान प्रदान गराउने जनाएअनुसार बुधबारदेखि वितरण सुरु गरिएको हो ।
पालिकाको ३ लाख रुपैयाँ बजेट लगानी र किसानको ३ लाख गरी ६ लाखको बीउ वितरण गरिने कृषि शाखा प्रमुख योगेन्द्रप्रसाद यादवले जानकारी दिए । उनका अनुसार पालिकामा किसानले साभा मन्सुली, साभा मन्सुली सव १, हर्दिनाथ ६, रामधानको उन्नत बीउ प्राप्त गर्नेछन् ।
सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खांले किसानलाई बीउ प्रदान गर्दै नेपाली धानको उत्पादनले नेपाली बजारमा स्थान पाउने र किसानले आफ्नै देशको धान खान पाउने बताए । उनले उन्नत बीउको प्रयोग गरी उत्पादन बढाउने उद्देश्यले धानको बीउ वितरण गरिएकाले पालिकाभित्रका किसानले अनुदानको बीउ प्रयोग गरी खेती गर्न सुझाए । नगरपालिकाले सिजनअनुसार धान, गहुँ तरकारीलगायतका बीउ र कृषि उपकरण कृषकलाई उपलब्ध गराउँदै आएकोसमेत उनले जनाए ।
पालिकाले लालपुर्जा, नागरिकता र वडाको सिफारिसका आधारमा किसानलाई बीउ उपलब्ध गराएको र सूचनाअनुसार थाहा पाएका बाहेकका किसानले समेत पालिकामा आई बीउ लैजान सक्ने कृषि शाखा प्रमुख यादवले बताए । अनुदानमा वितरण सुरु गरिएको धानको बीउ प्रतिकेजी ९० रुपैयाँ पर्नेमा अनुदानमा ४५ रुपैयाँमा किसानले पाउनेछन् ।
